सन् २०२१ को पुरै जुन महिना राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाबीर पुनसँग (हामी मायाले दाइ भन्छौं) कयौं अमेरिकी प्रमुख सहरमा नेपाली समुदायका नागरिक, विद्यार्थी, वैज्ञानिक, इन्जिनियर, डाक्टर, उद्यमी, सम्भावित लगानीकर्तासँग भेटघाटमा थिएँ। १९९० को दशकमा उनलाई छात्रवृत्ति प्रदान गरी अमेरिका पढ्न मद्दत गर्ने युनिभर्सिटी अफ नब्रास्काका प्राध्यापक, जो उनका आजीवन मार्गदर्शक र सहकर्मी पनि थिए, तिनको अन्तिम संस्कार स्मारकमा सरिक हुन दाइ मेमा अमेरिका आएका थिए।
स्मारक कार्यक्रमपछि महाबीर दाइ अमेरिकाको पश्चिमी तटवर्ती राज्यहरूहुँदै पूर्ववर्ती राज्यहरू तर्फको देशव्यापी यात्रामा निस्केका थिए।
दाइ आउनुभन्दा केही महिना अघिदेखि नै डा.सन्तोष सापकोटालगायत राष्ट्रिय आविष्कार केन्द्रप्रति सद्भाव राख्ने व्यक्तिको सक्रियतामा एकद्वार प्रणालीबाट दाइको यात्रा सम्बन्धी सूचना प्रवाह गर्न मेसेन्जर समूह बनेको थियो।
यसबाहेक दाइलाई अमेरिका भ्रमणको क्रममा आफू निकट सहरमा भेट्न चाहने नेपालीले पनि इमेल, जुम र फोनको माध्यमबाट छलफल र चिनजान बाक्लो पारेका थिए। यसरी स्व-स्फूर्त रूपमा हरेक सहरमा केही सम्पर्क व्यक्ति र नेपाली संस्थाहरूले आ-आफ्नो राज्यका प्रमुख सहरहरूमा दाइको भ्रमण र कार्यक्रमको जिम्मा लिएका थिए।
सुरूवाती जुनमा दाइले क्यालिफोर्निया राज्यमा आविष्कार केन्द्रसँगको सहकार्यमा सुपथ मूल्यमा भेन्टिलेटर उत्पादन गर्ने अन्वेषणमा जुटेका स्ट्याडफोर्ड विश्वविद्यालयका वैज्ञानिकको टोलीसँगको भेट गरे। मध्य जुनमा मध्य अमेरिकाको सिकागोहुँदै फेरि दक्षिणतर्फको टेक्ससबाट जुन २५ तारिकमा नेपाली दाजुभाइसँगको भेटघाट कार्यक्रमको लागि कनेक्टिकटको हार्टफोर्डमा उत्रिएका थिए।
२६ तारिक शनिबार दाइको बोस्टन भेटघाटको लागि एउटा आयोजकका नाताले लिन म आफूसँग अनुभवी ड्राइभर (र पेशाले आईटि इन्जीनियर) महेन्द्र सापकोटा र गाइडका रूपमा बोस्टनमै स्कुल पढेको श्याम खड्का भाइलाई लिएर हार्टफोर्ड नै पुगेको थिएँ।
अपराह्नको समयमा कार्यक्रम नेपाली समुदायको बाक्लो बस्ती रहेको वेस्ट हार्टफोर्ड केनडी मेमोरिअल पार्कको खुला मैदानमा एउटा त्रिपाल मुनि दाइसँगको भेटघाट राखिएको रहेछ। बच्चादेखि बुढासम्म सबै उमेर, पेसाका नेपालीको उपस्थिति थियो। हामी पुग्दा सुरूवाल अनि टिसर्ट लगाएका हेर्दा अत्यन्त सरल देखिने एउटा सोझो गाउँ घरको नेपाली भाषामा दाइ वक्तव्य दिईरहेका थिए।
उनी भन्दै थिए, ‘तपाईँहरू जस्ता देश विदेश देखेका म जस्तो मूर्खले तपाईँहरूलाई के भन्नु छ र? कुरा यही हो कि वैज्ञानिक आविष्कारलाई औद्योगीकरण गरी बजार नपुर्याएसम्म कुनै देश समृद्ध हुन्न। त्यसैले आउनुहोस् राष्ट्रिय आविष्कार केन्द्रलाई तपाईँहरूको विज्ञता र व्यवस्थापकीय क्षमताको खाँचो छ।’
आहा! कति सरल शब्दमा कति गहन कुरो! यदि उहाँ नै महाबीर दाइ हो भनी नचिनेका मान्छे त उहाँको सरलता देखेर अचम्मित नै पर्छन् होला। दाइ सादा जीवन उच्च विचारका जीवन्त उदाहरण हुन्।
कार्यक्रमपछि साँझ दाइ नेकोन (नेपलीज असोसिएशन अफ कनेक्टटिकट) का अध्यक्ष नारायण पौडेलका घरमा बसेका हुनाले हामीलाई पनि पौडेलजीकै घरमा रात्रि भोजको निम्तो मिल्यो। साँझ उहाँको घरको ब्याक यार्डमा नेपाली समुदायका केही प्रबुद्ध व्यक्ति भेट्न आएका थिए।
हामी सबै दाइको वरिपरि बस्यौँ। पास्ता र जुस लिँदै गर्दा दाइसँग आफ्ना मनमा लागेका प्रश्न सोध्दै थियौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीमा खेलेर आएका संजय पन्त कीर्तिपुरको खेल मैदान स्मरण गर्दै भावुक भएर भन्दै थिए, ‘दाइ पहिले कीर्तिपुर भन्यो कि क्रिकेट मैदान सम्झिन्थेँ, अहिले सबैले राष्ट्रिय आविष्कार केन्द्र छ भनेर चिन्छन्! हुन त देशले न खेलाडी चिन्यो न विज्ञ वैज्ञानिक तर दाइ तपाइले कीर्तिपुरको कीर्ति बढाउँदै नेपालमा अब माटो सुहाउँदो अनुसन्धान हुनुपर्छ भन्नेमा सबैको ध्यानाकर्षण गर्नुभएको छ।’
श्याम भाइले विगत एक महिनामा निरन्तर अमेरिकाका दुई दर्जन राज्यहरूमा कयौँ कार्यक्रम गर्दै आउनु भएको छ, थकाई लागेन अप्ठ्यारो भएन भनेर सोध्दा दाइले हल्कै रूपमा भने, ‘मो गएर प्लेनमा बस्ने हो मलाई के गाह्रो? गाह्रो भए प्लेनलाई हुन्छ!’ भन्दा सबै गलल्ल हाँसे।
दाइले कहिलेकाहीँ फ्लाइट क्यान्सिल हुँदा केही ठाउँमा समयमा पुग्न नसक्दा अरूलाई असहज भयो भन्दै गर्दा महेन्द्र भाइले ठट्यौली पाराले भने, ‘दाइ यो जहाजहरूको समस्या आउँदा तपाईँलाई अर्को जहाज आविष्कार गरौँ जस्तो लाग्दैन?!’ फेरि सबै हाँसे। दाइको आसपास सधैँ बडा रमाइलो माहौल हुन्छ! गफै-गफमा रातको १२ बजेछ! रात्रि भोज पछि दाइलाई ड्राइभ गरी बोस्टन लान बिहानै उपस्थित हुने भनेर हामी नारायणजीको घरबाट बिदा भयौं।
बिहानै दाइलाई कारमा लिएर हार्टफोर्डबाट बोस्टनतर्फ लाग्यौं। निस्कनुअघि एउटा सेल्फी फोटोसहित सामाजिक सञ्जालमा राख्यौं, ‘महावीर पुन दाइसँग आज हामी बोस्टनमा हुनेछौँ ! अपराह्न २ बजे पाउडर हाउस पार्क (टफ्ट्स विश्वविद्यालय नजिकै) र विशेष गरी रात्रि भोजका लागि ७-९ बजे पशुपतिनाथ बौद्ध फाउन्डेसन अफ् न्यु इंङ्ल्याण्ड भवनमा सबैलाई स्वागत छ!’ अनि आउन थाले दाइलाई भेट्न चाहने शुभेच्छुकहरूका मेसेज, फोन र भिडियो कलहरू!
बाटोमा दाइलाई विश्राम गर्न अनुरोध गरेका डा प्रकाश पौडेलको घरमा ब्रेकफास्ट गर्न रोकियौं। चिया नास्तासँगै सबैले दाइसँग फोटो पनि खिचे! बोस्टनमा लगभग दिनभरि नै भेटघाट गर्ने कार्यक्रमहरू पहिले नै निर्धारित गरिएका हुनाले डा. पौडेलको मध्यान्हसम्म विश्राम गर्ने प्रस्ताव दाइले स्वीकार्न सक्नुभएन। साँच्चै दाइलाई आफ्नो सुविधा र विश्रामको त ध्यानै छैन!
फेरि बोस्टनतर्फ लाग्दैगर्दा फोन र भिडियो कलहरूको सिलसिला जारी नै रह्यो! दाइलाई त हरेक ५ मिनेटमा कसै-न-कसैले कल गर्थेनै दाइसँगको फोटो राख्नाले मलाईसमेत कल आउन थाले! आविष्कार केन्द्रसँग सहकार्य गरी त्यहाँ बनेका ग्रामीण कृषि उपकरण सुदूर बझाङमा प्रयोग गर्न चाहने खप्तडछान्नामा एउटा संस्थासँग आबद्ध युवाहरूले ग्रुप कल नै गरेर दाइसँग कुरा गर्न चाहे। मैले फोन दाइलाई दिन बित्तिकै यस्तो वार्तालाप सुनियो: रमेश थापा (खप्तड छान्नाका युवा, हाल जापान) : दाइ हामी त तपाईँको झोले बन्न तैयार छौँ !
दाइ: हैन तपाईँ जस्ता मेहनती युवालाई झोले बनाए त पाप लाग्छ! बरू तपाईँ जस्ता युवा अब राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्नुहोस्!
रमेश थापा: हुन्छ दाइ तपाईँ हाम्रो प्रेरणाको स्रोत हुनुहुन्छ!
दाइलाई देश-विदेशमा छरिएर बसेका लाखौँ युवा आफ्नो आदर्श मान्छन्।
बोस्टनमा सर्वप्रथम हार्वर्ड, एमआइटिलगायत विश्वविख्यात विश्व-विद्यालयमा अन्वेषण गरिरहेका शोधकर्तासँग भेटघाट भयो।
एमआइटिमा पोस्ट डाक्टरल रिसर्च गरिरहेका डा. रञ्जन मिश्रलगायत अन्य विज्ञहरूले आविष्कार केन्द्रलाई हामी कसरी सहयोग गर्न सक्छौँ भनेर प्रश्न गरे। दाइले भने, ‘म पैसा माग्न आएको हैन, तपाईँहरू जस्ता शोधकर्ताबाट मेन्टरिङ र कोलाबरेशनको आवश्यकता छ। योजना ल्याउनुहोस् बरू आवश्यक परे सामग्री,उपकरण र जनशक्तिको व्यवस्था आविष्कार केन्द्रले गर्नेछ।’
विज्ञान, उद्यमशीलता, नवीकरणीयता र सहकार्यको बारेमा दुई घण्टाको गहन छलफल पछि २ बजेको पाउडर हाउस पार्कको सामूहिक भेटघाटको लागी हिँड्दै गयौँ।
पाउडर हाउस पार्क सानो थुम्कोको टुप्पोमा १७ औँ शताब्दीको अमेरिकी स्वतन्त्रता संग्राम ताका गन पाउडर उत्पादन गर्ने सानो किल्ला रहेछ। दाइ फटाफट उकालो हिँड्न लाग्दा दाइको झोलाले असहज बनायो कि, भनेर मैले झोला मागेँ। ओहो! दाइको झोला कति गह्रुङ्गो! मलाई मनमा लाग्यो झोला नै बोक्नु छ भने महाबीर दाइको झोला बोकौँ! यो झोलामा आविष्कार र ग्रामीण उद्यमशीलताका योजना छन्!
भेटघाटका लागि सबै आउनुअघि पार्कमा दाइसँग केही तस्बिर खिच्यौं। फोटो खिच्दै गर्दा महेन्द्र भाइले हाँस्दै भने, ‘अरू सँग फोटो खिच्दा भुँडी भित्र तान्नुपर्ने तनाव हुन्छ दाइसँग खिच्दा त्यो परेन!’
हाम्रो ध्यान फोटोमा भए पनि दाइ भने १७ औँ शताब्दीका डुङ्गाले बनेको त्यो पार्कको घेरबाडमा थियो। दाइले भने, ‘नेपाल एकीकरण र अमेरिका स्वतन्त्र लगभग सँगै भएका थिए। यिनीहरूले विज्ञान-प्रविधिमा समयमै लगानी गर्नाले विकसित भए हामी चाहिँ आन्दोलन र अस्थिरतामा नै अल्झेर पछि पर्यौं।’
जहाँ गए पनि दाइको अर्जुनदृष्टि सधैँ नेपालमा आम जनमानसमा विज्ञान र आविष्कारको संस्कार कसरी बसाउने होला भन्नेमै केन्द्रित हुन्छ।
पार्कको सामूहिक भेटघाटपछि बेडफोर्डमा दाइका पुराना मित्र प्रह्लाद केसीको घरमा मध्यान्न भोजनका लागि गयौं। दाइ र केसीजी १९८०-९० को दशकमा अमेरिका आएका नेपालीसँगका पुराना दिन स्मरण गर्न थाले। दाइले भने, ‘म सुरूमा अमेरिका आउँदा नेपालका गाउँ घरका एक-आध् युवा फाट्ट-फुट्ट विदेश आउँथे, म पढेर फर्केर २० वर्ष गाउँ घरमा डुलेर ग्रामीण विकासमा काम गर्दै गर्दा मैले क्रमशः बिदेसिने लहर बढेको देखेँ। आज त गाउँमा ऊर्जावान् र दक्ष युवा पाउन नै मुस्किल छ। अब हाम्रा युवालाई देशमै रोजगार सिर्जना गर्न आविष्कारलाई उत्पादन बधाई आयात घटाई, निर्यात गर्ने प्रणालीको शृंखला निर्माण गर्नैपर्छ अब।’
बेलुकी ७ बजे पशुपतिनाथ बौद्ध फाउन्डेसन अफ् न्यु इंङ्ल्याण्ड भवनमा सबै नेपाली दाइलाई भेट्न जम्मा भएका थिए। जीबिएनसी ( ग्रेटर बोस्टन नेपाली कम्युनिटी )का अध्यक्ष मिलन कार्कीले माला, खादा जस्ता औपचारिकतामा समय नखर्चेर दाइलाई नै बोल्न अनुरोध गर्नुभयो।
दाइले उपस्थित सबैलाई सम्बोधन गर्दै भने, ‘हामीसँग तपाईँहरू चार किसिमको सहकार्य गर्न सक्नुहुन्छ। पहिलो तपाईँहरू हामीलाई नेपालमै अनुसन्धानदेखि उत्पादन गरी बजारसम्मै लान सकिने आइडिया दिनुहोस्। दोस्रो, हामीलाई समय दिनुहोस् - हाम्रो बारेमा कुरा, प्रचार-प्रसार गर्नुहोस्। तेस्रो, चाहनु हुन्छ भने साधन स्रोत प्रदान गर्नुहोस्। र चौथो हाम्रा प्रोजेक्टहरूमा लगानी गर्नुहोस्, उद्यम सुरु गरी बजारसम्मै पुर्याएर राष्ट्रिय आविष्कार केन्द्रलाई आत्मनिर्भर बनाउन मद्दत गर्नुहोस्।’
कार्यक्रम पछि दाइसँग बिदा मागेर हामी फर्कियौँ। बाटोमा महेन्द्र भाइले भन्यो ‘दाइ, महाबीर दाइले राष्ट्रिय आविष्कार केन्द्रका लागि देखेका सपनाहरू अब मलाई पनि कन्ठै भए- नेपालमै अनुसन्धानको संस्कार बसाउँदै , दक्ष युवालाई परिचालन गर्दै माटो सुहाउँदो आविष्कारलाई संस्थागत गर्दै बृहत् उत्पादन गर्दै आत्मनिर्भर संस्था बनाउँदै रोजगारी सिर्जना गर्दै देशको अर्थतन्त्रमा योगदान दिने।’
हो भाइ, हामी निन्द्रामा सपना देख्छौँ तर दाइका सपनाले त शायद उहाँलाई शायद सुत्नै दिँदैन होला! हामीले पनि बुझ्ने मौका पायौं अब ती सपना साकार पार्ने जिम्मेवारी भने हाम्रै काँधमा छ।
बिष्णु प्रसाद जोशी,
खप्तड छान्ना-५, पिठातोला
हाल: विद्यावारिधि (रसायन शास्त्र)
युनिभर्सिटी अफ म्यासाचुसेट्स, अमेरिका
(लेखक जोशी राष्ट्रिय आविष्कार केन्द्र प्रति सद्भाव राख्छन्, यो संस्मरणमा लेखिएका व्यक्ति या संस्थासँग लेखकको कुनै प्रत्यक्ष संलग्नता छैन)