अमेरिकाको ओक्लाहोमास्थित एउटा अस्पतालमा राइफल र ह्यान्डगन लिएका एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा चार जनाको ज्यान गएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार आक्रमणकारीको पनि आफ्नै गोली लागेर मृत्यु भएको छ।
ओक्लाहोमाका प्रहरी अधिकारी जोनाथन ब्रुक्सले ३५ देखि ४० वर्ष बीचको उमेरका आक्रमणकारीको पहिचान गर्ने प्रयास भइरहेको बताए।
डाक्टरहरूको कार्यालय र अर्थोपेडिक सेन्टर रहेको अस्पतालको दोस्रो तल्लामा आक्रमण भएको थियो।
घटनामा परी ज्यान गुमाउनेमा अस्पतालका कर्मचारी र बिरामी रहेको अर्का प्रहरी अधिकारी एरिक डल्ग्लासले जानकारी दिएका छन्।
गत साता टेक्सासको एक विद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १९ बालबालिका र दुई शिक्षकको मृत्यु भएको थियो।