न्यूयोर्कमा सम्पन्न दुई दिने ट्राभल एण्ड एड्भान्चर मेला (ट्राभल शो) मा नेपालले पनि सहभागिता जनाएको छ।
ट्राभल्स शोमा हिमाल आरोहणका समय प्रयोग गरिने र पदयात्रामा प्रयोग हुने सामग्री लगायत पशुपतिको मन्दिर र स्वयम्भु स्तुपा पनि प्रदर्शनमा राखिएको थियो।
मेलामा नेपालका पर्यटकीय क्षेत्र र प्याकेजको जानकारी दिनुका साथै नेपालको पर्यटन प्रर्वद्धनका लागि अमेरिकी पर्यटकलाई निम्ता दिइएको नेपालका लागि अमेरीकाका पर्यटन दूत प्रदिप श्रेष्ठले जानकारी दिए।
युनिकम एलएलसीको आयोजनामा जेकब जाभिट्स सेन्टर, म्यानहट्टनमा भएको बृहत मेलामा आधिकारिक कम्पनी ट्राभल ब्युरो अफ नेपालले मुलुकको प्रतिनिधित्व गरेको हो।
नेपालको प्रचार प्रसार गर्नु आफ्नो पदीय जिम्मवारी र कर्तव्य भएकाले यस प्रकारका मेलामा सहभागी भएको श्रेष्ठले जानकारी दिए।
‘मेरो काम नै नेपालको प्रवर्द्धन गर्नका लागि हो, यस पटकको शोका लागि ६ महिना अगाडि नै बुक गरेको थियौं, पछि केही साथी आउन चाहेनन् केहीलाई भिसा समस्या भयो तर मैले आफ्नो जिम्मेवारी पुरा गरेँ,’ श्रेष्ठले भने।
नेपाल बाट केही कम्पनीले ट्राभल शो मा सहभागी हुन कोशिश गरेका थिए तर नेपाल स्थित अमेरिकन दूतावासले भिसा अन्तवार्ताको लागि २०२४ मा मात्र समय दिएकाले उनीहरु सहभागी हुन नपाएको पर्यटन दूत श्रेष्ठले जानकारी दिए।
ट्राभल शो मा अन्तर्राष्ट्रिय ट्राभल कम्पनी, होटल, रिसोर्ट तथा विभिन्न एयरलाइन्स कम्पनीहरुको सहभागिता थियो। ट्राभल एण्ड एडभेन्चर शो मा भ्रमणकर्ताको उत्साहजनक उपस्थितिले शो मा सहभागी पर्यटन व्यवसायी दंग थिए।
कोभिड-१९ ले सुस्ताएको पर्यटन व्यवसाय अब चलायमान हुने देखिएको छ। ट्राभल ब्युरो अफ नेपालका नेपाल प्रतिनिधि तथा नेपाल पर्वातारोहण संघका बोर्ड सदस्य एव पर्यटन ब्यबसायी राजेन्द्र लामालगायत शोमा सहभागि थिए।
लामाका अनुसार भ्रमणकर्ताहरु नेपालका बारे जान्न र नेपाल भ्रमण गर्न निकै उत्साहित देखिन्थे। नेपालको बारेमा जानकारी दिन पाउँदा आफूलाई खुसी लागेको लामाले बताए।
‘मैले विदेशका बिभिन्न मेलामा सहभागी हुने अवसर पाएको छु तर यो पटक मेलामा नेपालको बारेमा न्युर्योकबासीको चासो देख्दा निकै उत्साहीत भएँ,’ उनले भने।
दुई दिने पर्यटन मेलामा करीब २५ हजार डलर खर्च भएको ट्राभल ब्युरो अफ नेपाल का सिईओसमेत रहेका प्रदीप श्रेष्ठले जानकारी दिए। उक्त खर्च उनले निजी रूपमा गरेको बताए।
श्रेष्ठले करिब ६ महिना अघि नै उक्त शो को लागि बुथ बुक गरि सम्बन्धित निकायमा जानकारी गराएको र नेपालका पर्यटनसँग सरोकार राख्ने नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग र पर्यटन मन्त्रालयलाई पटक पटक अनुरोध गर्दा पनि कुनै निकायबाट सहयोग नपाएको दुखेसो गरे।
‘नेपालका विभिन्न निकायलाई कसरी नेपालको पर्यटन प्रवर्द्धन गर्न सकिन्छ भनेर पटक पटक विभिन्न खाका तथा योजनाहरु जानकारी गराएँ तर उहाँहरुले त्यति गहन रुपले लिएको मैले पाएको छैन,’ श्रेष्ठले भने, ‘यदि सरोकार राख्ने निकायले चासो दिएमा अझै प्रभावकारी तरिकाले नेपालको पर्यटन प्रवर्द्धन गर्न सकिन्थ्यो।’