आठ वर्षिया काभ्या वाग्लेले पहिलोपटक सप्तरंगी रंगहरु कोमल हातले छोइन् अनि तीन वर्षिय रेभिन श्रेष्ठको निधारमा लाइदिँदै भनिन- ह्याप्पी होली..। एकछिन पछि एक पोका रंग बोकेर आफ्ना बाबाआमा, साथीभाइको निधार र गालामा लगाइदिन थालिन्।
यसरी रंगहरुसँग खेल्न पाउदाँ उनको अनुहारको चमक नै फरक देखिन्थ्यो, रंगहरुजस्तै रंगिचंगि देखिन्थ्यो। कसैलाई पछाडिबाट गएर गालामा रंग लाउदै गरेकी काभ्याले भनिन्- म यो रंगहरु र साथीहरुसंग रमाइरहेकी छु, एकदमै मज्जा लागेको छ।
पछिल्लो पुस्ताकी काभ्या मात्र होइन् ९० वर्षका हजुरबुवा-हजुरआमाहरुले पनि आफ्नो पालामा खेलेको होली स्मरण गर्दै काभ्याहरुसँगै रंगहरुसँग खेल्न थाले।
अमेरिकाको डेलावर राज्यस्थित ग्लासग्लो पार्कमा यस वर्षको फागुपुर्णिमा होलि सभ्य र भव्य रुपमा मनाइएको छ। डेलावर राज्यस्थित डेलावर नेपाली पाठशाालाले आयोजना गरेको उक्त होली कार्यक्रममा यहाँका डेलावर, पेन्सिलभेनिया र न्युजर्सी राज्यका करिब दुई सय जनाको सहभागिता थियो।
पाठशालाका शिक्षिकाकालगायत दुई दर्जन आमाहरुको अगुवाईमा सुरु गरिएको सो कार्यक्रम मुख्य गरी पछिल्लो पुस्तालाई फागु वर्षबारे जानकारी दिने र अघिल्लो पुस्तालाई यो पर्वमा रमाएर हर्षाेउल्लास बनाउनु रहेको पाठशालाकी शिक्षिका आज्ञा अधिकारीले बताइन्।
कार्यक्रमको व्यवस्थापनमा मुख्य अगुवाइ गरेकी प्रमिला सुवेदीले तीनपुस्तासम्मको सहभागिता भएको यो सामूहिक होली कार्यक्रमले व्यक्तिलाई प्रत्यक्ष हर्षको अनुभूति गराउनुको साथै नेपाली संस्कृतिलाई विदेशमा निरन्तरता दिइएको बताइन्।
सभ्य र भब्य तरिकाले सम्पन्न गरिएको उक्त कार्यक्रमममा होली पर्व झल्काउने सांगीतिक कार्यक्रमसमेत गरिएको थियो। कार्यक्रम सुरु हुनुअघि सहभागिहरुले पाँच किलोमिटर दौडेका थिए।
प्रस्तुतीः रेखा कुसुम रेग्मी