बोस्टनमा नेपालकी प्रख्यात गायिका आनी छोइङ डोल्मा लाइभ कन्सर्ट हुने भएको छ । यही जुन २५ मा बोस्टनस्थित ब्रक्ली पर्फमेन्स आर्ट थिएटरमा आनीको एकल सांगीतिक प्रस्तुति हुन लागेको हो ।
आध्यात्मिक गायिकाका रुपमा परिचित आनी अहिले ’यूनिटी एण्ड होप युस टुर २०१७’ अन्तर्गत अमेरिकाका विभिन्न राज्यमा आफ्नो एक सांगीतिक प्रस्तुतिमा व्यस्त छिन् । यही क्रममा उनी बोस्टन आउन लागेकी हुन् ।
आयोजकका अनुसार नेपाली र विदेशी दुवैथरी दर्शकका लागि आनीले आफ्ना आध्यात्मिक गीत, संगीत प्रस्तुत गर्नेछिन् । अमेरिकामा जुन ३ बाट सुरु भएको उनको सांगीतिक यात्रा लस एन्जलस, सन फ्रान्सिस्को, ओरेगन, सियाटल, वासिंगटन डिसी हुंदै बोस्टन आएर सकिने छ ।
घई इन्टरेन्टमेन्टले आनीको यो सांगीतिक यात्रा आयोजना गरेको हो भने बोस्टनको स्थानीय आयोजक हिमालयन हेरिटेज कल्चरल एकेडेमी हो। बोस्टनमा हुने कन्सर्टका लागि २५, ३५, ५० र १०० डलरका टिकट तोकिएको छ ।
आनीको कार्यक्रम हुने थाहा पाएपछि एक महिनादेखि नै उत्साहजनक रुपमा टिकट बिक्री भइरहेको आयोजक संस्था हिमालयन हेरिटेज कल्चरल एकेडेमीका सुरेश वाग्लेले जानकारी दिए । उनले आनीका फ्यान नेपाली मात्र नभई बौद्धमार्गी र धेरै अमेरिकन समेत रहेकाले कार्यक्रम भव्य हुने आशा व्यक्त गरे ।
’आनीको आध्यात्मिक र जादुमय स्वरका पारखी बोस्टन क्षेत्रमा पनि धेरै भएकाले हामीले दर्शकको निकै राम्रो सहभागीताको आशा गरेका छौं, वाग्लेले भने ।
आनीको सांगीतिक प्रस्तुतिलाई साथ दिन संगीतकार न्यूह बज्राचार्य, रमन महर्जन र गोपाल रसाइली समेत साथमा रहने आयोजकको भनाई छ। कार्यक्रममा हिमालय हेरिटेल कल्चरल एकेडेमीका वाद्यवादकले समेत आफ्नो छोटो सांगीतिक प्रस्तुति देखाउने छन् ।
आनीका ’फूलको आंखामा फूलै संसार...’ गीत सर्वाधिक लोकप्रिय छ । यसबाहेक उनका ’ओम माने पेमें...., भगवान कहां म जाउं...., भेटिएन ईश्वर....., जय होस् तिम्रो’ लगायत गीत लोकप्रिय छन् ।
नेपालमा सञ्चालित आनीका विभिन्न परियोजनाहरुको सहयोगका लागि यो सांगीतिक टुर आयोजना गरिएको हो ।