गत अमेरिकी राष्ट्रपतीय चुनावमा रसियाको हस्तक्षेपका बारे हुँदै गरेको अनुसन्धानको दायरामा राष्ट्रपति डोनाल्ड ट्रम्प पनि परेका छन्।
उक्त छानविन प्रक्रियासँग विमति राख्दै ट्रम्पले त्यसलाई अमेरिकी इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो 'बेकामे मुद्दा' भएको प्रतिक्रिया दिएका छन्।
‘फेक न्युज’ र ‘ह्याकिङ’ मार्फत् रसियाले चुनावमा हस्तक्षेप गरेको कुरामा अमेरिकी उच्च अधिकारीहरू लगभग सहमत छन्। उक्त हस्तक्षेपबाट डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिमा निर्वाचित हुन सहयोग पुगेको थियो।
छानविनले सुल्झाउन खोजेको कुरा ट्रम्पका सहयोगी र रसियाका अधिकारीबीच चुनावमा हस्तक्षेप गर्न साँठगाँठ भएको थियो वा थिएन भन्ने हो।
उक्त छानविन प्रक्रियालाई अवरुद्ध गर्न लागेको अारोप ट्रम्पलाई लागेपछि उनी छानविनको दायरामा आएका हुन्।
आफ्ना सल्लाहकार माइकल फ्लिनलाई रसियाका राजदूतसँग अपारदर्शी ढंगले वार्ता गरेको र टर्कीसँग पैसा लिएर त्यो देशको एजेन्टका रूपमा काम गरेको आरोप लागेपछि उनले फ्लिनलाई बर्खास्त गरेका थिए।
रसियासम्बन्धी छानविन प्रक्रिया अघि नबढाउन उनले एफबीआईका निर्देशक जेम्स कोमेलाई निर्देशन दिएको र कोमेले नमानेपछि उनलाई बर्खास्त गरेको उनीमाथि आरोप छ।
कोमेलाई बर्खास्त गरेपछि विवाद झनै बढ्यो। राष्ट्रपति कार्यालयबाट केही स्वायत्त मानिने ‘जस्टिस डिपार्टमेन्ट’ले पूर्वएफबीआई निर्देशक रोबर्ट मुलरको नेतृत्वमा विशेष जाँचबुझ आयोग गठन गर्यो।
उक्त आयोग गठन भएपछि ट्रम्प झनै चिढिएका थिए।
राष्ट्रपति ट्रम्पले रसिया मुद्दालाई आफूविरोधी मिडिया र विपक्षी डेमोक्रयाटिक पार्टीले आफूलाई असफल र बद्नाम गराउने उद्देश्यले चर्काएको आरोप लगाएका छन्। डेमोक्रयाटिक पार्टीले चुनावी हार पचाउन नसकेको उनको भनाइ छ।
ट्रम्पले रसियासम्बन्धी मुद्दा प्रक्रिया अवरुद्ध गर्ने प्रयास गरेको बयान एफबीआईका पूर्वनिर्देशक कोमेले संसदीय समितिमा दिइसकेका छन्।
वाशिंगटन पोष्टका अनुसार ट्रम्पले रसियासम्बन्धी अनुसन्धान अवरुद्ध गर्ने प्रयास गरे वा गरेनन् भन्ने अब जाँचबुझ आयोगले अनुसन्धान गर्ने छ। अब रसियासम्बन्धी अनुसन्धानले नयाँ मोड लिएको छ।
आफू छानविनको दायरामा आएको समाचारप्रति उनले तीव्र आक्रोश व्यक्त गरेका छन् भने उपराष्ट्रपति माइक पेन्सले छुट्टै कानुनी अधिवक्ता नियुक्त गरेका छन्।
पत्रकारले सोधेका प्रश्नको उत्तर ट्रम्पका सहयोगीले दिएका छैनन्। ट्रम्पले छानविनलाई अमेरिकी इतिहासको सबैभन्दा ठूलो ‘विच हन्ट’ भनेका छन्।
यदि ट्रम्पले चुनाव जित्न रसियाको सहयोग लिएको र उनले छानविनको प्रक्रिया अवरुद्ध गरेको अनुसन्धानले पुष्टि गरे महाभियोग लगाएर उनलाई बर्खास्त गर्ने बाटो खुल्नेछ।