सुपरमोडल तथा पूर्व फ्रान्सेली प्रथम महिला कार्ला ब्रुनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विगतमा आफ्नो प्रेम सम्बन्ध थियो भन्ने हल्ला गलत भएको बताएकी छन्।
ब्रुनीले ट्रम्प आफैंले उक्त कथा रचेर 'ट्याब्लोइड' पत्रिका मार्फत् प्रचारवाजी गरेको आरोप लगाएकी छन्।
सन् ९० को दशकमा ट्रम्पको ब्रुनीसँग सम्बन्ध रहेको र त्यही कारणले ट्रम्पले आफ्नो प्रेमिका मर्ला मापल्स (पछि श्रीमती) सँग सम्बन्ध तोड्ने तयारीमा रहेको खबर चर्चामा आएको थियो।
सन् १९९१ मा न्यूयोर्क पोस्टले ट्रम्प र मापल्सको तस्बिर छाप्दै उनीहरुको सम्बन्ध तोडिएको र त्यसको कारण ब्रुनी भएको बताएको थियो।
त्यसको अर्को दिन ट्रम्प आफैंले उक्त समाचारको पुष्टि गरेको चर्चा पनि चलेको थियो।
इटालीयन मूलकी ब्रुनीले ट्रम्पसँग एक्लै कहिल्यै नभेटेको बताउँदै भनेकी छन्, ‘जब उक्त कथा लिएर उनी प्रेसमा गए, म आश्चर्यमा परेँ।’
ब्रुनीले फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीसँग विवाह गरेकी हुन्।
गत राष्ट्रपतीय निर्वाचनका क्रममा वाशिङटन पोष्टले ट्रम्पले विभिन्न नाम प्रयोग गरी कसरी आफ्नो प्रचार आफैं गर्थे भन्नेबारे एक लेख प्रकाशित गरेको थियो।
लेखमा उल्लेख भएअनुसार ट्रम्पले आफ्नो नाम ‘जोन मिलर’ वा ‘जोन ब्यारोन’ राखेर ट्याबलोइड पत्रिकालाई फोन गर्थे र ब्रुनी, किम बासिंगर, म्याडोना जस्ता चर्चित महिलासँग डेटिंग गरेको झुटो कथा ‘लिक’ गर्थे।
ब्रुनीसँगको प्रेम कथा न्यूयोर्क पोस्टमा छापिएपछि ट्रम्पका संचार सहयोगी ‘जोन मिलर’ले उक्त समाचार पुष्टि गरेका थिए। तर ‘जोन मिलर’ भनेको ट्रम्प आफैं थिए।
चर्चित महिलासँग ट्रम्प अत्यन्त धेरै आकर्षित हुने खालका छन्। केही समयअघि हलिवुड नायिका सालमा हायकले पनि ट्रम्प आफ्नो पछि लागेको खुलासा गरेकी थिइन्।
कार्ला ब्रुनीको नाम गुगलमा खोज्दा प्रथम पृष्ठमा नै ट्रम्पसँग उनको सम्बन्ध रहेको समाचार भेटिने गर्छ।
आफ्नो गलत प्रेम कथाबारे पढ्दा तपाईंलाई कस्तो महसुस हुन्छ भन्ने प्रश्नको जवाफमा ब्रुनीले भनेकी छन्- ‘त्यो अमेरिकन गुगल भएको कारणले हुनसक्छ। किनकि, फ्रेन्च गुगलमा खोज्दा मेरा श्रीमान्, मेरा काम, मेरा तस्बिरहरु भेटिन्छन । म खुसी छु कि मेरा छोराछोरीका बारेमा धेरै चर्चा भेटिदैँन। मैले उनीहरुलाई सुरक्षित राख्न सफल भएकी छु ।’
ब्रुनी फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीसँग वैवाहिक सम्बन्धमा छन् र उनीहरूका दुई सन्तान छन्।