आध्यात्मिक गायिकाका रूपमा परिचित आनी छोइङ डोल्मा अहिले ‘यूनिटी एण्ड होप युस टुर २०१७’ अन्तर्गत अमेरिकाका विभिन्न राज्यमा आफ्नो एक सांगीतिक प्रस्तुतिमा व्यस्त छन्। आनीको आध्यात्मिक र जादुमय स्वरलाई जती प्रसंसा गरे पनि कम हुन्छ। यही क्रममा अमेरिकाको राजधानी वाशिङ्टन डिसी आईपुगेकी आनीसँग भेटघाट र कुराकानी गर्ने मौका मिल्यो।
सहकर्मी साथी गुणराज लुईटेलका साथ भिन्तुना ईन्टरनेसनलद्वारा आयोजित भर्जिनियाको एक भेटघाट तथा स्वागत कार्यक्रममा उनको बर्तमान सांगीतिक कार्यक्रमका बारेमा कुराकानी गर्ने अवसर मिल्यो।
आफ्नो बीस दिने लामो वर्तमान सांगीतिक कार्यक्रमका बारेमा जानकारी दिँदै आनीले अहिलेसम्म सान फ्रान्सिस्को, लस एन्जलस र सियाटलका कार्यक्रम उत्साहजनक रुपमा सम्पन भयो र यसबाट आफू सन्तुष्ट भएको बताईन्।
‘आफ्नो कुनै पनि प्रयास वा कोशिश सामाजिक कार्यको लागि मात्र हो,’ उनले भनिन्, ‘मलाई व्यक्तिगत रुपमा दुई छाक खाना खान सबैले दिएका छन्। हाम्रो संस्कार र संस्कृति अनुसार पनि धर्म गर्ने मान्छे कहिल्यै भोकै मर्दैनन्।’
आफ्नो कुनै पुण्यको फलले एउटा गाउने कला प्राप्त भएकाले त्यस बरदानको सदुपयोग गर्न सकियोस् र धेरै भन्दा धेरै श्रोताहरुलाई खुसी पार्न सकियोस भन्ने आफ्नो प्रयास रहेको आनीले बताईन्।
धेरै संस्थामार्फत सामाजिक सेवामा लागेकी आनी सामाजिक सेवाका बारेमा भन्छिन् – ‘सामाजिक सेवा आफ्नो धर्म हो । सामाजिक सेवा गर्नु भनेको एउटा मानवीय धर्म हो, जसमा विशेष गरेर आफू बुद्धको अनुयायी भएपछि जीवन सार्थक बनाउने आफ्नो प्रयास हो। धेरै गरे वा थोरै गरे भन्ने हिसाब किताबमा आफू नलागेको तर जती गर्ने सकेको छु त्यसमा आफ्नो सौभाग्य ठानेको र त्यसैमा आफू अत्याधिक खुसी छु।’
प्रवासमा बस्ने नेपालीलाई सदा मातृभूमीको तिर्सना रहन्छ। चाड पर्व लगायत आफ्नो भाषा कला र संस्कृतिको अभाव महसुस गर्ने प्रवासी नेपालीलाई एक आध्यात्मिक गुरूको हैसियतले कस्तो मन्त्र दिनु हुन्छ भन्ने एक प्रश्नमा आनीले बुद्ध धर्ममा लागेको र बुद्धका अनुयायी भएर एउटा सतकर्मको बाटोमा लागेर आफूले पाएको संगीतको माध्यमबाट जसरी आफूलाई र अरूलाई खुसी दिन सकेको छु त्यसैमा आफू रमाईरहेको बताईन्।
‘विदेशीहरू नेपाल आउँछन् र हाम्रा गुरुहरु र हामीबाट ज्ञान गुनका कुराहरु र ध्यानका कुराहरु सिकेर आफ्नो देश फर्कन्छन्। आफूले पाएको ज्ञानका कुरा अभ्यास गर्दै साथी भाइलाई समेत सिकाउँछन,’ उनी भन्छिन्, ‘आफ्नो जीवन यापन अलिकती सहज बनाउन बिदेश आएका आफ्नै नेपाली हुन्, तर आफ्नै धर्म संस्कृतीलाई भुलेर जीवन यस्तै हो भन्दै दुःखी भएर बस्नु गलत हुन्छ।’
प्रवासी नेपालीलाई आफ्नो मन्त्र दिदै आनीले नेपाल जान आउन नसकिए पनि बिदेश भ्रमणमा आएका वा स्थानीय ज्ञानी गुनी गुरुहरुलाई दर्शन गर्न गएर उहाहरुका दर्शनका कुरा सुनेर, अमृत बाणी सुनेर तथा धर्मका कुरा सुनेर जिवनमा अलिकती भए पनि प्रभाव ल्याउन जरुरी हुने बताइन्।
‘जीवन सार्थक बनाउने बाटो तब भेटाइन्छ जब आध्यामिक चिन्तनमा मनन गर्न सकिन्छ,’ आनी भन्छिन्, ‘आध्यामिक हुनु भनेको एकदम धार्मिक नै हुनु, मठ मन्दिर मै गएर जप गर्नु पर्छ भन्ने होइन, आफ्नो धर्म संस्कृतिको सार बुझेर आफ्नो जीवनलाई अगाडी बढाउनु हो।’
नेपालमा विकास नहुनुमा अस्थिर राजनीति नै कारक भएको आनी बताउँछिन्। ‘एक दुई जना खराब भए भन्दैमा सबैलाई खराब ठान्नु हुँदैन। नेपालमा प्रगती भएको छ तर विकासको गति विदेशमा झै छिटो छैन,’ उनले भनिन्, ‘नेपालमा हामी जस्ता धेरै छन् समाज सेवा गर्दै देश विकासमा सहयोग गर्ने, तर मिडियाहरुले गलत कुरा मात्र छाप्छन्।’
नेपालमा जारी स्थानिय निर्वाचनमा देश विकासका लागि नयाँ सोच र अठोट लिएर सहभागी भएका उम्मेदवारबाट आफू प्रभावित भएको र देशले नयाँ गति पाउनेमा आनी बिश्वस्त छन्।
उनले आज वाशिन्टन डिसीमा आफ्नो सांगीतिक प्रस्तुति दिनेछन्।
आनीको यो सांगीतिक प्रस्तुति वासिंटन क्षेत्रमा स्थापित थ्रीई इन्टरटेनमेन्ट तथा तामाङ सोसाइटी अफ ग्रेटर वासिंटनको आयोजनामा हुन लागेको हो। आनीको प्रस्तुतीमा संगीतकार न्यूह बज्राचार्य, रमन महर्जन र गोपाल रसाइली पनि सहभागी छन्। आयोजकले आनीको प्रस्तुति विदेशी तथा नेपाली दुवै समुदायलाई लक्ष्य गरेर हुने जानकारी दिएको छ।
नेपालमा सञ्चालनमा रहेका आनीका परियोजनाहरू आरोग्य फाउन्डेसन, आर्य तारा पाठशाला लगायतको सहयोगका लागि गरिएको आयोजनाले जनाएको छ ।