अमेरिकामा जर्सी सिटीमा बसोबास गरिरहेका नेपालीहरुको सम्मानमा आयोजित एक कार्यक्रममा त्यहाँका मेयरले गरेको झण्डोत्तलनलाई लिएर नेपालीहरुले चासो व्यक्त गरेका छन् ।
गत जुन ३० तारिखका दिन आयोजित उक्त नेपाली ‘फ्लाग रेजिंग डे’ कार्यक्रम जर्सी नगर भवनमा सम्पन भएको थियो । जर्सी सिटीका मेयर स्टेभन फुलपले अमेरिकाको झण्डासहित नेपालको झण्डोत्तोलन गरेका थिए ।
कार्यक्रमस्थल नगर भवनमा राखिएको एउटै खम्बामा सबै भन्दा माथि अमेरिकाको र त्यसको मुनि नेपालको राष्ट्रिय झण्डा उठाइएको थियो । उक्त कार्यक्रमपश्चात नेपालको झण्डा किन समानान्तर राखिएन र एउटै खम्वामा अमेरिकाको झण्डाको मुन्तिर नेपालको राष्ट्रिय झण्डा उठाइयो भन्ने प्रश्न उठेको हो ।
यस सम्बन्धमा कार्यक्रममा सहभागी भएका महावाणिज्यदूत पुष्पराज भट्टराईले आयोजकको अनुरोधमा आफु कार्यक्रममा सहभागी भएको तर झण्डा कसरी राखिने र उचालिने भन्ने राजदुतावाससँग सल्लाह नभएको र आफुले कार्यक्रममा गएपछि मात्र झण्डोत्तलन कार्यक्रम अवलोकन गरेको बताए ।
यस प्रकारको सम्मानमा अमेरिकाले गर्ने ‘फ्लाग रेजिंग डे’ नेपालीहरुका लागि नौलो भएको र अमेरिकाको प्रचलित झण्डोत्तोलन प्रोटोकलका बारेमा आफूलाई जानकारी नभएको पनि भट्टराईले बताए ।
यो एउटा सम्मान कार्यक्रम भएको र नगर भवनमा सधैंको लागि नभएर सम्मान कार्यक्रम अवधिका लागि मात्र नेपालको झण्डा राखिएको हुन सक्ने उनले बताए । तर, दुई देश बीचको कुटनीतिक सभा समारोह जस्ता कार्यक्रममा भने दुवै देशका झन्डाहरु अलग अलग खम्बामा समानान्तर राखिने परम्परा रहेको उनले जानकारी दिए ।
यस अघि फिलाडेल्फिया नगरले सन २०१० मा नेपाली बासिन्दाहरुको सम्मानमा पहिलो पटक नेपालको झण्डोत्तोलन गरेको जनाइएको छ । त्यसपछि जर्सी सिटी झण्डा फहराउने दोश्रो अमेरिकी शहर बनेको छ ।
जर्सी सिटीमा सम्पन्न नेपालको झण्डा फहराउने कार्यक्रममा जर्सी सिटीका मेयर स्टेभन फुलप, जर्सी सिटी डाईभर्सिटी तथा इनक्लुजन बोर्ड सल्लाहकार डा विष्णु माया परियारका साथै नेपाली महावाणिज्यदूत पुष्पराज भट्टराई लगायत जर्सीबासी नेपालीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा फुलपले नेपालीमूलका ३ जना व्यक्तित्वहरुलाई सम्मान गरेका थिए । सम्मान पाउनेमा खगेन्द्र जीसी (वकिल), केशबराज सेढाईं (वकिल) र ऐश्वर्या शर्मा (यूवा नेत्री) भएको आयोजकले जनाएका छन् ।