विराटनगरबाट अमेरिका आई वाशिङटन डिसी मेट्रो वरीपरीका राज्यमा बसोबास गर्ने नेपालीले हिजो भर्जिनियास्थित फेयर फ्याक्स सिटीमा एक भेटघाट कार्यक्रम गरे।
विराटनगरियाको उक्त भेटघाट कार्यक्रमलाई विराटनगर महानगरपालिकाका नव निर्वाचित मेयर भीम पराजुलीले लाईभ फोन मार्फत सबैलाई शुभकामना ब्यक्त गर्दै विराटनगर महानगरपालिकाको विकासका लागि आफूलाई सहयोग र सल्लाह दिन अनुरोध गरेका थिए।
आपसमा भाईचारा कायम गर्दै दुःख र सुख साटासाट गर्ने उद्धेस्य लिदै वार्षिक रूपमा भेटघाट, पिकनिक, तीज तथा दशै तिहार जस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको विराटनगरिया भेटघाटका आयोजक स्वयमसेवक सदस्य मध्येका राजन अधिकारीले बताए।
आयोजक सदस्य सुनिलमणी दाहाल भन्छन्- ‘अमेरिकामा छौ हामी तर हाम्रो नावी नेपाल मै छ। सामाजिक सेवा जस्तो सन्तुष्टी अन्य केहीबाट प्राप्त गर्न सकिदैन। अत : आफ्नो गाउँ ठाउँको विकासमा सबैले हातेमालो गरेर सहयोग गरौं।
भर्खरै मात्र विराटनगरलाई महानगरपालिका घोषणा गरिएकोमा सबै सहभागीहरुले खुसी ब्यक्त गरे। अब अमेरिकामा बसोबास गर्ने हामी विराटनगरीयाले आफ्नो महानगरपालिकालगायत त्यस क्षेत्रको विकासमा टेवा दिनुपर्ने र त्यसमा विराटनगरिया भएको नाताले पनि थप जिम्मेवारी बढेको अर्का आयोजक स्वयमसेवक सदस्य सुमन तिमील्सिनाले बताए।
अमेरिकामा बसोबास गर्दै आएका नेपालीको पहुँच कम्प्युटर प्रविधि क्षेत्रमा पुर्याउन आफ्नो सकृयताका बारेमा प्रकाश पार्दै आईटी पढेर रोजगारीका लागी भौतारिएका नेपालीहरुले आफ्नो संस्थामा सर सल्लाह लिन सक्ने ब्यहोरा आइटी क्षेत्रका बिज्ञ गोपी उप्रेतीले जानकारी गराए।
उक्त कार्यक्रममा कानूनी क्षेत्रमा अध्यापन गर्दै आएकी कानूनविद् माधवी कार्कीले कानून अध्यापन र कानूनी राय सल्लाहमा आफूले गर्नसक्ने सहयोगका बारेमा प्रकाश पारेकी थिइन्। त्यस्तै, विराटनगरबाट आएर अमेरिकामा अध्ययन तथा अध्यापन गर्दै आफ्नो बिज्ञताका बारेमा डा. मेदिनी भन्डारीले प्रकाश पारे।
उक्त कार्यक्रममा स्थानीय चेली प्रभा भट्टराई देउजाले सामाजिक कार्यमा सबै लाग्नुपर्ने र यसैबाट आफ्नो जिवन सार्थक हुने ब्यहोरा ब्यक्त गर्दै नेपालमा आफूले सहयोग गर्दै आएको हरिसिद्दी पब्लिक स्कुलका बारेमा प्रकाश पारिन्।
उक्त कार्यक्रममा नेपालबाट घुम्न आएका पाहुनाहरुको समेत उपस्थिति थियो । नाच गानसहित विराटनगरको विषेश ‘पान’ ले सबै को मुख मिस्ठान्न गरिएको थियो।