अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा र उनका ज्वाइँको सिनेट समितिमा बयान लिइने भएको छ।
सन् २०१६ मा अमेरिकी राष्ट्रपति चुनावमा रसियाली हस्तक्षेपको बारेमा यो समितिले छानबिन गरिरहेको छ। र, यहीँ उनीहरुले आफ्नो बयान पेश गर्नुपर्नेछ।
ट्रम्पका जेठा छोरा ट्रम्प जुनियर र ज्वाइँ ज्यारेड कुशनर र चुनावी अभियानका प्रबन्धक पल म्यानाफोर्टलाई रसियाली अधिकारीहरुसँग सम्बन्ध राखेको आरोपमा सोधपुछ गरिने भएको हो।
यद्द्पी, ट्रम्प र उनका सहयोगीले रुससँग कुनै पनि किसिमको सम्बन्ध नरहेको बताउँदै आएका छन्।
यसअघि ट्रम्पले जर्मनीमा भएको जी२० सम्मेलनमा रसियाली राष्ट्रपति भ्लाद्मीर पुटिनसँग नाकाबन्दीबारे कुरा नभएको बताउँदै आएका थिए। तर पछि ह्वाइटहाउसले उनीहरुबीच यसबारे कुरा भएको स्वीकारेको थियो।
निर्वाचनमा रसियाले प्रभाव पारेको भन्ने आरोपका कारण सुरुदेखि नै तातेको अमेरिकी राजनीति जुनियर ट्रम्पले रसियाली अधिकारीहरुसँग गरेका इमेलहरु सार्वजनिक गरेपछि झन् बिवादित बनेको हो।
बुधबार सिनेट समितिको निर्देशनअनुसार जुनियर ट्रम्प र म्यानाफोर्टले आगामी २६ जुलाईमा हुने सुनुवाइमा बयान दिनुपर्नेछ। कुशनरले भने २४ जुलाईमा बन्द कोठामा बसेर गोप्य एजेन्सीहरुका बारेमा सोधिने प्रश्नका जवाफ दिनुपर्नेछ।