अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग जर्मनीमा भएको पछिल्लो वा दोस्रो पटकको भेटवार्ता १५ मिनेटको मात्र भएको बताएका छन् ।
यसै महीनाको पहिलो हप्ता जर्मनीको ह्याम्बर्गमा आयोजना भएको जि२० को बैठकमा सहभागिताका लागि त्यहाँ गएका बेला उनले पुटिनसँग छुट्टै भेटवार्ता गरेको समाचार आएको थियो । र, साे कुरा ह्वाइटहाउसले पनि स्वीकार गरेको छ । तर, उसले सो भेटमा राजनीतिक भेटवार्ता भने नभएको स्पष्ट गरेको छ ।
ह्वाइट हाउसको यो स्वीकारोक्ति आएपछि भने राष्ट्रपति ट्रम्पले पनि मुख खोलेको बताइएको छ । उनले आफूले सो भेटवार्ता बेलुकाको खाना खाने बेलामा सँगैको टेबलमा रहेकाले ख्यालठट्टाकै रुपमा सामान्य कुराकानी भएको अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सको बुधबारको अंकमा उनले दिएका अन्तरवार्तामा जानकारी गराएका छन् । ‘मलाई लाग्छ त्यतिबेला हामीले रुसले त्यहाँका अनाथ बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्न प्रतिबन्ध लगाएको विषयमा हामीले कुरा गरेका थियौँ’ – राष्ट्रपति ट्रम्पले भने ।
उता अमेरिकी गुप्तचर निकायले भने गत वर्षको राष्ट्रपतीय चुनावमा रुसले ट्रम्पलाई सघाएको आरोप लगाउँदै आएको छ । तर राष्ट्रपति ट्रम्पले उक्त आरोपलाई अस्वीकार गर्दै आएका छन् ।
गत हप्तामात्र पनि राष्ट्रपति ट्रम्पका जेठा छोराले रुसी वकिलसँग गरेको कुराकानीको खुलासा भएको थियो । राष्ट्रपति ट्रम्पले सो कुराकानी भएको कुरा स्वीकार गर्दै आफ्नो छोराले इमान्दार र पारदर्शी काम गरेको प्रतिक्रिया दिएका थिए । रासस/सिन्ह्वा