अमेरिकी सिनेटले रुस, इरान र उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध गरिरहेका भएपनि सिनेटले यी तीन देशमा नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको हो।
प्रस्तावको पक्षमा ९८ र विपक्षमा २ मत परेको थियो।
यसै साता यो प्रस्ताव अमेरिकी संसदको तल्लो सदनले पारित गरी सिनेटमा पठाइएको थियो।
राष्ट्रपति ट्रम्पको हस्ताक्षरका लागि पठाउनुअघि सिनेटको पारितका लागि पठाइएको यो विधेयकले ट्रम्पको हस्ताक्षर पछि कानूनको रुप लिनेछ।
यो नयाँ प्रतिबन्धले अमेरिका र रूसको सम्बन्ध जटिल हुने र रुससँग सम्बन्ध सुधार्ने ट्रम्पको योजना असफल बन्ने बताइएको छ। उनलाई यसले निकै समस्यमा पारेको विश्लेषण गरिएको छ।
यो बिधेयक विफल बनाउने विशेषाधिकार ट्रम्पलाई भएनपि उनले यसो गरेमा रुसप्रति आफ्नो समर्थन छ भन्ने सबैको अनुमानलाई झन् बलियो बनाइदिनेछन्। त्यसैले राष्ट्रपति ट्रम्पले यो विशेषाधिकार प्रयोग गर्ने सम्भावना कम रहेको सम्बन्धित विश्लेषकहरुको भनाइ छ।
अमेरिकाले यसअघि नै रुसी नागरिक र कम्पनीहरुमाथि नाकाबन्दी लगाएको छ। गत वर्षको डिसेम्बरमा पूर्व राष्ट्रपति बाराक ओबामाले ३५ रुसी कुटनीतिज्ञलाई फिर्ता पठाइदिएका थिए।
इरान र उत्तर कोरियामाथि भने उनीहरूको परमाणु र मिसाइलका विषयलाई लिएर अमेरिकाले प्रतिबन्ध लगाउन खोजेको हो।