अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनको नयाँ किताब प्रकाशन हुने भएको छ।
क्लिन्टनको ‘ह्वाट ह्यापन्ड’ किताबले गतवर्षको राष्ट्रपति निर्वाचनमा के भएको थियो भन्ने खुलासा गर्ने बताइएको छ।
आगामी सेप्टेम्बर १२ मा आउने क्लिन्टनको यो संस्मरण किताबको प्रकाशक साइमन एण्ड स्कस्टर हो।
राष्ट्रपति पदकी उम्मेदवार क्लिटन डोनाल्ड ट्रम्पसँग पराजित भएकी थिइन्।
बिहीबार उनले किताबको केही हरफ बताउँदै भनिन्, ‘ह्वाट ह्यापन्ड लेख्न निकै मुस्किल भयो। हामी समस्याबाट अगाडि बढ्यौं तर, लड्न छाड्दैनौं।’
‘मैले लेखेमध्येको सबैभन्दा व्यक्तिगत किताब हो यो। एक महिला भएर राष्ट्रपतिको पदका लागि चुनाव लड्नको अनुभव यसमा समेटिएको छ,’ पत्रकार सम्मेलनमा बोल्दै क्लिन्टनले भनेकी छन्।
किताबले अमेरिकी राष्ट्रपतीय चुनावमा भएको रुसी हस्तक्षेप, लैंगिक विभेद र डोनाल्ड ट्रम्पसँगको दौडमा क्लिन्टनले भोगेका विषयलाई समेटेको प्रकाशकको भनाइ छ।