अमेरिकाको बोस्टनमा जारी श्रीमद्धभागवत् सप्ताह ज्ञान महायज्ञमा खचाखच नेपालीहरुको सहभागीताले उत्साह बढाउँदै लगेको छ। वाचन प्रविण दिनबन्धु पोखरेलको जादुमय प्रवचन कलाले बोस्टन र आसपास क्षेत्रका प्रवासी नेपालीमा यतिबेला सप्ताह ज्ञान महायज्ञको चर्चा निकै बढाएको छ।
बोस्टन क्षेत्रमा बसोबास गर्ने नेपालीका लागि आफ्नै सामुदायिक केन्द्र स्थापना गर्न अगस्त ६ मा सप्ताह सुरु गरिएको हो। उक्त सामुदायिक केन्द्रमा पशुपतिनाथ र बौद्ध मन्दिर समेत रहने उल्लेख छ । सोही सामुदायिक केन्द्र स्थापना गर्न आयोजित यस सप्ताहबाट १५ लाख डलर संकलन गर्ने आयोजकको लक्ष्य छ ।
आयोजक समितिकाअनुसार शुक्रबार छैटौं दिनसम्म आइपुग्दा सयौं दाताहरुबाट दानका लागि बोलिएको रकम १० लाख डलर नाघेको छ । अझै कैयन् दाताहरु सार्वजनिक विदाको दिन शनिबार आउने भएकाले आशा गरिए अनुरुपको लक्ष्य शनिबार अन्तिम दिनसम्म हासिल हुने आयोजकको भनाई छ ।
आफ्नै सामुदायिक केन्द्र बनाउने अभियानमा साथ दिन सप्ताहमा आएकाहरुले आफ्नो क्षमताअनुसार १० डलरदेखि ५१ हजार डलरसम्म दान गरेका छन् । सप्ताहको छैटौं दिन शुक्रबार सँंझसम्म १० लाख ५३ हजार डलरभन्दा बढी दान प्राप्त भएको आयोजकको भनाई छ । शुक्रबार एकै दिनमा ३ लाख डलर संकलन भएको छ । यो अहिलेसम्म एकै दिन संलकन भएको सबैभन्दा ठूलो दान रकम हो ।
हालसम्म लक्ष्मीनारायण प्रधान र झरना प्रधानको परिवारले सबैभन्दा बढी अर्थात् ५१ हजार डलर दान गरेका छन् ।
यस्तै युवा व्यवसायी एवं सञ्चारकर्मी सुरेश वाग्ले र रोशनी खनालको जोडीले ३० हजार ३ सय ३३ डलर ३३ सेन्ट दान गरेको छ । यसैगरी बोस्टन क्षेत्रमा सफल व्यवसायीका रुपमा स्थापित नेपाली रेष्टुरेन्ट हिमालयन बिस्ट्रोले २८ हजार ४ सय ४४ डलर दान गरेको छ । यस्तै बोस्टन क्षेत्रकै अर्का सफल व्यवसायी शिव श्रेष्ठ र अन्जु श्रेष्ठले २६ हजार डलर दान गरेका छन्।
यस सप्ताहको अर्काे मुल आकर्षणका रुपमा शनिबार ११ बटुकको सामूहिक ब्रतबन्ध हुंदैछ । यो ब्रतबन्धबाट पनि तोकिएको शुल्कका आधारमा आयोजकलाई अतिरिक्त दान प्राप्त हुनेछ । यस्तै १ हजार ८ वटा कलश घरघरमा लैजान चाहने श्रद्धालु भक्तजनबाट समेतप्रति कलश ५१ डलरको दरले ठूलै रकम संकलन हुने आयोजकको भनाई छ ।
सप्ताहको दिन बढ्दै जांदा झन्झन् भक्तजनको भिड बढ्दो छ भने दाताको लस्करले आयोजक समितिमा पनि उत्साह थपिंदो छ ।
मेडफोर्डस्थित शिवालय मन्दिरको दुर्गा हलमा आयोजित सप्ताहमा प्रवचन सुन्न आएका भक्तजनको भीड सम्हाल्न आयोजकलाई हम्मेहम्मे पर्न थालेको छ । विशेषगरी सांझको प्रवचन सुन्न बोस्टन र आसपासका शहरहरुबाट सयौंको संख्यामा भक्तजनको घुईंचो लाग्ने गरेको छ । यहांको व्यस्त जीवन शैलीमा पनि नेपालीहरुको धार्मिक आस्था र आफ्नै सामुदायिक केन्द्र बनाउने अठोटले सप्ताहको रौनक उल्लेख्य बढाएको छ ।
सभा हलमा नअटाएका भक्तजनहरु ढोका बाहिर उभिएर, भोजन कक्षको टिभी हेरेर र फेसबुक लाइभ हेरेर समेत रातको १० बजेसम्म धैर्यसाथ बसेका देखिन्छन् । प्रवचन सुन्न आउनेहरुमा अपरान्हभन्दा सांझको समयमा महिलाहरुको निकै ठूलो भिड देखिएको छ । दिनभर काममा गएकाहरु सांझ परिवारसहित प्रवचन सुन्न आउने गरेका छन् । बालबालिकालाई छुट्टै कोठामा हेरिदिने स्वयंम्सेवकको व्यवस्था गरिएकाले अभिभावकहरु निर्धक्कसंग सप्ताहमा सहभागी भई धार्मिक प्रवचन सुन्न सजिलो भन्दै खुशी भएका छन् ।
दिनदिनै भक्तजनको उत्साजनक उपस्थिति देखेर सप्ताहका प्रमुख वाचक वाचन प्रविण दिनबन्धु पोखरेल समेत दंग परेका छन् । उनले बोस्टन सप्ताहमा यतिधेरै नेपालीको सहभागीता देखेर आफुलाई निकै उत्साही र खुशी बनाएको उल्लेख गरेका छन् । प्रवचनका क्रममा उनले उपस्थित भक्तजनलाई चाखलाग्दा पुराण कथा, धार्मिक ग्रन्थ, श्लोक, भजन सुनाएर मन्त्रमुग्ध बनाउंदै आएका छन् ।
सप्ताहमार्फत् बोस्टनबासी नेपालीले देखाएको उत्साहबाट मूलआयोजक समितिका संयोजक सुशील पौलेल पनि निकै हौसिएका छन् । उनले सम्पूर्ण दाताको भावना र आवश्यकतालाई कदर गर्दै आयोजक समितिले जतिसक्दो छिटो आफ्नै सामुदायिक केन्द्र स्थापनाका लागि जोड दिने बताएका छन् । यस्तै आयोजक समितिका महासचिव पुष्कर न्यौपाने पनि यो सप्ताहसंगै अहिले आफुहरुको दिमागमा सामुदायिक केन्द्र बनिसकेको र अब जमिनमा मात्रै बन्न बांकी रहेको भन्दै उत्साहित बनेका छन् । उनले सप्ताहको अन्तिम दिनसम्म पनि आफ्नो मनदेखि दान गर्न र सम्पूर्ण बोस्टन क्षेत्रबासी नेपालीको एउटै उदेश्यमा एकजुट हुन सबैलाई आव्हान गरेका छन्।