यहाँ रहेका नेपालीहरुको प्रतिनिधिमूलक संस्था रिजउड नेपाली समाजले श्रीमद भागवत महापुराणको आयोजना गर्ने भएको छ।
समाजले यही अगष्ट २३ देखि २९ सम्म दुर्गा मन्दिर तथा नेपाली सामुदायिक भवन स्थापनार्थ महापुराण आयोजना गर्न लागेको हो। ज्याक्सन हाईट नजिकैको सत्यनारायण मन्दिरमा आयोजना गरिने उक्त महापुराणमा धार्मिक गुरु दीनबन्धु पोखरेलको उपस्थितिमा हुने आयोजक संस्थाका अध्यक्ष रबि किरण कोईरालाले सेतोपाटीलाई बताए।
अध्यक्ष कोइरालाका अनुसार धार्मिक गुरु पोखरेलले कथा बाचन गर्ने यस कार्यक्रममार्फत १० लाख अमेरिकी डलर संकलन गर्ने लक्ष्य रहेको छ। एक हजार ८ मूल समारोह समितिको गठन गरिएको यस कार्यक्रममा १ सय ८ कलशसहित नगर परिक्रमा गरिने छ भने दैनिक ५ सयदेखि एकहजार मानिसहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ ।
नेपाली भाषा संस्कृतिको संरक्षण एवं प्रवद्धन गर्ने उद्धेश्यले सन २००३ मा स्थापित रिजउड नेपाली समाजले आफ्नो मौलिक संस्कार जोगाई राख्न र नयाँ पुस्तामा रुपान्तरणको लागि महापुराणको आयोजना गरिएको कार्यक्रमको प्रचार प्रसार विभागका भुवनेश्वर अधिकारीले बताए।
महापुराणको संयोजनको जिम्मेवारी संस्थाका उपाध्यक्ष राजेश भट्टलाई दिइएको छ। समाजले सन् २०११ मा पहिलो महापुराण आयोजना गरि संकलित रकमबाट ५ हजार बर्गफुटको जग्गा खरिद गरिसकेको छ। महापुराण सकिएलगत्तै जाडो महिनाभरि आयोजनाको स्थापना प्रक्रिया शुरुगरि आगामी समरसम्म जग्गा खन्ने योजना रहेको समाजका अध्यक्ष कोईरालाले जानकारी दिए।
समाजले मन्दिर तथा सांस्कृतिक केन्द्रको स्थापनार्थ दोस्रो पटक आयोजना गरिएको महापुराण विवादका कारण रोकिएको थियो। कार्यक्रममा न्युयोर्क लगायत आसपास रहेका राज्यहरु कनेटिकट, न्युजर्सीका साथै विभिन्न राज्यहरुबाट नेपालीहरुको उपश्थिति रहने आयोजक पक्षले दाबी गरेको छ।