परदेशमा हुँदा जब घर देशमा कुनै बिपत्ति आउँछ तब कुन चाहिँ नेपालीको मन नरोला र? त्यो बिपत्तिको घडीमा न कुनै क्षेत्र,वर्ण र जात हेरिन्छ, न त कुनै पार्टी बिशेष नै। यस्तो कठीन घडीमा सबै मैलोहरु बिर्सेर मन खोलेर सहयोग गर्ने ग़ैर आवासीय नेपालीहरुको बिशेषता नै हो।
यसै परिप्रेक्ष्यमा अमेरिकाको आयोवा राज्यस्थित 'क्वाड सिटी नेपाली सोसाइटी'(QCNS)को अगस्ट १५, २०१७ मा बसेको आकस्मिक सभाले हालै नेपालमा तराई क्षेत्रमा गएको भीषण बाढी पहिरोले पुर्याएको जनधनको क्षति बारे गहिरो दु:ख ब्यक्त गर्दै पिडितहरुको राहतको लागि धेरै भन्दा धेरै रकम उठाई नेपालमा पठाउने निर्णय गरेको छ।
संस्थाका अध्यक्ष किरण बस्नेतको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव रघु आचार्यले गरेका थिए। कार्यक्रमको शुरुमा बाढीको कारणले ज्यान गुमाएकाहरु प्रति मौन धारण गरिएको थियो।
सभाका सहभागीहरुले उठेको रकम सही रुपमा पीडित समक्ष पुग्नु पर्ने कुरामा जोड दिएका थिए । सो कार्यका लागि नेपालको कुनै विश्वशनीय संस्थालाई सम्पर्क गर्नु पर्ने सुझाव दिदै समुदायका अन्य ब्यक्तिहरुबाट पनि सहयोग लिन सजिलो होस भनी GoFundME खाता समेत निर्माण गर्ने निधो गरेर काम शुरु गरिसकेको बताईएको छ। सो कामको जिम्मा संस्थाका सदस्य राधेश पण्डितलाई दिईएको छ।
सो अवसरमा उपस्थित नेपाली समुदायका व्यक्तिहरुबाट मात्र एकै छिनमा क़रीब तीन हज़ार छ सय अमेरिकी डलर सहयोग रक़म संकलन भएको छ। यो क्रम क़रीब १ हप्ता सम्म जारी रहने कुरा संस्थाका सदस्य पशुपति डल्लाकोटीले बताउनु भयो। करिब ८० परिवार मात्र भएको क्वाड सिटी नेपाली सोसाइटीमा करिव १० हजार डलर सम्म उठ्न सक्ने कुरामा आयोजकहरु विश्वस्त छन्।यति सानो सोसाइटीबाट उठ्न सक्ने यति ठूलो धनराशीलाई अर्थपूर्ण रुपमा वास्तविक पिडित सम्म पुर्याउन सके ठूलो उपलब्धि हुन सक्ने देखिन्छ। ती मनकारी, परोपकारी मनलाई हाम्रो पनि धेरै धेरै शुभेक्षा छ।