फार्मेस्यूटिकल कम्पनी जोन्सन एण्ड जोन्सनले एक महिलालाई करिब ४३ अर्ब रुपैयाँ हर्जाना दिनु पर्ने भएको छ। अमेरिकी अदालतको आदेशअनुसार कम्पनीले सो हर्जाना तिर्नपर्ने भएको हो।
लस एन्जसलकी ६३ वर्षीया इभा एकेभेरियाले कम्पनीको पाउडर प्रयोग गरेपछि आफूलाई पाठेघरको क्यान्सर भएको मुद्दा दायर गरेकी थिइन्। उनका अनुसार ११ वर्षको हुँदादेखि उनले यो पाउडर लगाउँदै आएकी थिइन्। सन् २०१६ मा यही पाउडर प्रयोग गर्ने एक महिलालाई पाठेघरको क्यान्सर भएको खबर पढेपछि लगाउन छाडेकी थिइन्।
क्यालिफोर्निया अदालतमा यस्तै अन्य सयौं मुद्दा रहेको बताइएको छ। पूरै अमेरिका जोनसोन उत्पादनविरुद्ध हजारौं मुद्दा भएको समाचारमाध्यमले जनाएका छन्।
न्यूजर्सीका सयौं महिलाले जोनसन पाउडरले पाठेघरको क्यान्सर भएको बताएका छन्। गुप्तांगको पसिना सुकाउन उनीहरुले यो पाउडर प्रयोग गरेका थिए।
इभाको यो मुद्दामा कम्पनीले आफ्ना उत्पादनबाट हुन सक्ने हानीबारे चेतावनी उल्लेख नगरेको भन्दै यति ठूलो रकम हर्जाना तिराइएको छ। यस्तो मामिलामा यसलाई हालसम्मकै ठूलो फैसला मानिएको छ।
जोनसन एण्ड जोनसनका प्रवक्ता क्यारोल गुडरिक भने यो फैसलाविरु्दध अपील दायर गर्ने बताएका छन्। आफूहरु विज्ञानमा विश्वास गर्ने भन्दै उनले पाउडरले नै क्यान्सर गराएको हो भन्ने प्रमाण अपुग भएको दाबी गरेका छन्।
कम्पनीले भने यसअघि यस्तै ४ मुद्दा हारिसकेको छ र करिब ३२ अर्ब रुपैयाँ हर्जाना तिरिसकेको छ।