विवेकशील साझा सद्भाव समूह सिकागोको आयोजनामा अमेरिकास्थित सिकागो सहरमा नेपालका विविध पक्षहरू समेटी त्यहाँस्थित स्थानीय नेपालीमुलका बासिन्दासँग एक अन्तरकृयात्मक कार्यक्रमको आयोजना गरिएको छ। समयको महत्वलाई विशेष ध्यान दिँदै आयोजना गरिएको उक्त कार्यक्रम परम्परागत नेपाली शैलीभन्दा फरक ढंगले सञ्चालन गरिएको थियो। विषय वस्तुमा सिधै प्रवेश गरिएको उक्त कार्यक्रममा आयोजकले कुनै पनि व्यक्तिलाई कार्यक्रमको सभापति पनि तोकेनन् साथै कुनै वक्तालाई मञ्च आगाडि ल्याएर भद्दा तरिकाले आसन ग्रहण पनि गराएनन्।
सिकागोवासी केही पुराना समाजसेवीहरु र केही नयाँ पुस्ताका वक्ताले बोलेको उक्त कार्यक्रममा अर्थशास्त्री एवं वेस्टर्न ईल्लिनोइज युनिभर्सिटी का सह प्राध्यापक डा. शंकर घिमिरेले राजनीतिक अस्थिरता, भ्रस्टाचार र प्रभावकारी लगानीको अभाव मुख्य रुपले नेपालको आर्थिक विकासका मुख्य बाधक तत्वहरु भएको औल्याए भने अहिलेका मुलधारका राजनीतिक पार्टीहरुको कार्यशैली कुनै राजा-महाराजको भन्दा फरक नरहेको उल्लेख गर्दै उनीहरुले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मचएकाले तिनीहरुको विकल्प खोज्ने सही समय आएको स्थानीय जन-स्वास्थ्य विद डा. संजय ढकालले बताए।
५० डिग्री सेल्सियस तापक्रममा काम गरेर पठाएको रेमिटेन्सले धानेको एशियाको दोस्रो गरिब देशका संसदहरुले भ्रष्टाचारीले पनि चुनाव लड्न पाउनुपर्छ भन्दै हंगामा गरेको देख्दा आफूलाई विरक्त लागेर आउने कुरा स्थानीय सिकागोल्याण्ड नेपाली समाजका अध्यक्ष्य टेकराज पौडेलले बताए।
विवेकशील साझा सद्भाव समूह सिकागोका निमित्त संयोजक मेदनी संग्रौलाले कार्यक्रम आयोजनाको उद्धेश्यमाथि प्रष्ट पार्दै, वावु-आमा जुन पार्टीसँग आवद्ध छन्, उनीहरूका छोरा-छोरीहरू पनि गुण-दोष केही नछुट्याइकन, अझ भ्रुण अवस्थाबाटै, त्यही पार्टीमा लाग्ने जुन हाम्रो परम्परागत राजनीतिक संस्कार छ त्यसलाई चिर्दै सही लाई सहि र गलत लाई गलत भन्ने संस्कारलाई अभिप्रेरित गर्न उक्त कार्यक्रमको आयोजना गरिएको बताए।
स्थानीय समाजसेवीहरु गोपाल कंडेल, सुमन वस्ती, सत्य चौधरी, खेम पाठक तथा विवेकशील साझा सद्भाव समूह सिकागोकी महिला सदश्य दक्षिणा दाहाले पनि आफ्ना विचारहरु प्रस्तुत गरे।
देशलाई द्रुत गतिमा आर्थिक विकास गर्न नेपालमा वैकल्पिक र सुसंस्कृत राजनीतिको आवश्यकता रहेको सबै वक्ताहरुको निचोड रहेको थियो । सिकागोमा अहिलेसम्म यस्तो फरक र गहन खालको कार्यक्रम आफूहरुले कहिल्यै नदेखेको भन्दै उपस्थित सम्पूर्ण वक्ताहरुले आयोजक विवेकशील साझा सद्भाव समूह सिकागोको प्रशंसा गर्दै धन्यवाद प्रदान गरे।