अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र अमेरिकी सरकारका उपविदेशमन्त्री जोन जे सुलिवानले ५ मिलियन डलरको सहयोग पत्रमा हस्ताक्षर गरेका छन्। अमेरिकी सरकारले नेपाललाई भौतिक पूर्वाधार विकास र विद्युत प्रसारणका क्षेत्रमा सहयोगकालागि नेपाल मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) अन्र्तगत उक्त रकम दिने घोषणा गरेको थियो। अमेरिकाको वासिङ्गटन डिसीमा आयोजित एक समारोहमा दुई देशका प्रतिनिधिहरुले हस्ताक्षर गरेका हुन्।
हस्ताक्षर समारोहमा दुई देशमा मन्त्रीहरुका साथै मिलेनियम च्यालेन्ज कर्पोरेसनका सिइओ जोनाथन नास, अमेरिकालागि नेपाली राजदूत डा. अर्जुन कार्की, नेपालकालागि अमेरिकी राजदूत अलाइना टेप्लिजको पनि उपस्थिति थियो।
‘कर्पोरेसनको मिसन भनेको आर्थिक बृद्धि गर्दै गरिबी घटाउने हो,’ हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै मिलेनियम च्यालेन्जका सिइओ जोनाथन नासले भने, ‘हाम्रा साझेदार देशहरुलाई निजी लगानीको उचित वातावरण सिर्जना गर्नुपनि हाम्रो उद्धेश्य हो। यस्ता लगानीले आर्थिक बृद्धि हुनुका साथै स्थायीत्व र सुरक्षाको प्रतिभूति हुन्छ।’
उनका अनुसार यो सहयोग दक्षिण एसियामा पहिलो हो।
गत अगस्ट महिनामा एमसिसिको संचालक समितिको बैठकले नेपाललाई सहयोग गर्ने निर्णय गरेको थियो। नेपाल अमेरिका बिचको ७० वर्षे दौत्य सम्बन्धको सन्दर्भमा यो सहयोग गर्ने निर्णय गरेको जनाइको थियो। साथै एमसिसिको एक टिमले नेपालको स्थलगत अध्ययन पनि गरेको थियो।