अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताका लागि उत्तर कोरियाले कार्यसूची तय गरेको छ।
मंगलबा सिंगापुरमा हुने वार्ताका लागि किम जङ-उनले ‘स्थायी शान्ति स्थापना संयन्त्र’ का विषयमा छलफल गर्ने योजना बनाएको उत्तर कोरियालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।
किम र ट्रम्प बहुप्रतीक्षित एवम् ऐतिहासिक भेटवार्ताको तयारीका लागि हिजै सिंगापुर पुगिसकेका छन्। सिङ्गापुरको सान्तोषा टापुस्थित सेन्ट रेगिस होटलमा दुई पक्षीय शिखर वार्ता हुने तय भएको छ।
उत्तर कोरियाको केसीएनए समाचार संस्थाले सार्वजनिक गरेको विज्ञप्ति अनुसार दुई नेताले ‘स्थायी र दिगो शान्ति स्थापना गर्ने संयन्त्र’ का विषयमा छलफल गर्ने तय भएको हो।
दुई पक्षबीच हुने वार्तामा कोरियाली प्रायद्वीपमा परमाणु अस्त्र निश्शस्त्रीकरण र आपसी हितका विषयमा छलफल हुने भनिएको छ।
विज्ञप्तिमा अब एउटा परिवर्तित युग शुरू भएको छ बताइएको छ।
यसैबीच ट्रम्पले शिखर बैठकप्रति आफूलाई सुखद अनुभूति भइरहेको बताएका छन् भने किमले विश्वले आफूहरूलाई नजिकबाट नियालिरहेको बताएका छन्।
उत्तर कोरियाले आफ्ना परमाणु अस्त्र सदाका लागि त्यागि देओस् भन्ने अमेरिकी चाहना भए पनि प्योङयाङले के चाहेको हो त्यो स्पष्ट पारिएको छैन
बैठकका लागि सिंगापुर आएका दुबै नेताहरू छुट्टा-छुट्टै होटलमा बसिरहेका छन्। किम सेन्ट रेगिस् होटलमा छन् भने ट्रम्प आधा माइल पर रहेको शांग्रिलामा बसिरहेका छन्।
बीबीसीका अनुसार परम्परागत राजनीतिले यस्तो बैठक सम्भव भएको नभएर उत्तर कोरियाली नेता किमसँगको यो बैठक लामो यात्राको शुरूवात हुन सक्नेछ।
वार्ताका लागि लाग्ने सम्पूर्ण खर्च सिङ्गापुर सरकारले बेहोर्ने छ। दुवैपक्षको भ्रमण दलको सम्पूर्ण खर्च २ अर्ब लाग्ने सिङ्गापुर सरकारले जनाएको छ।