कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि इजरायल पुनः देशव्यापी लकडाउन लगाउने भएको छ।
शुक्रबारबाट सुरू हुने लकडाउन ३ हप्ताको हुनेछ जसअनुसार यहुदी नयाँ वर्षदेखि कडा प्रतिबन्धहरू लगाइनेछ।
लकडाउनबाट देशले भारी मूल्य चुकाउनुपर्ने प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताएका छन्।
इजरायलमा प्रतिदिन ४ हजारको संख्यामा संक्रमित थपिदैं आएका छन्।
सरकारको यस कदम गठबन्धन सरकारभित्रैको सहयोगी दलबार विरोध सुरू भएको छ। लकडाउनको विरोधमा एक जना मन्त्रीले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने धम्कीसमेत दिएका छन्।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार ९० लाख जनसंख्या भएको इजरायलमा हालसम्म संक्रमणका कारण ११ सय ८ जनाको मृत्यु भइसकेको छ भने १ लाख ५३ हजार बढी जना संक्रमित भइसकेका छन्। पछिल्ला हप्ताहरूमा त्यहाँ संक्रमण फैलिने क्रम तीव्र भएको छ।
नयाँ प्रतिबन्ध कस्तो हुनेछ?
आइतबार आफ्नो टेलिभिजन सन्देशमा प्रधानमन्त्री नेतन्याहुले देशमा प्रतिदिन ४ हजार संक्रमित फेला परिरहेको बताएका थिए।
इजरायलले लगाउन लागेको दोश्रो लकडाउन मुलुकका लागि महँगो पर्ने बताइएको छ। यसअघि मार्चको अन्तिमबाट मे महिनाको सुरूसम्म लकडाउन लगाइएको थियो।
नयाँ प्रतिबन्धका सर्तहरू यस्ता छन् :
-भित्र हुने भेटघाटमा १० भन्दा बढी मानिसहरू भेला हुन पाउनेछैनन् भने बाहिर २० जना भन्दा बढीको जमघटलाई निषेध गरिएको छ।
-स्कूल र सपिङ सेन्टरहरू बन्द गरिनेछन् भने मानिसहरू आफ्नो घरबाट ५ सय मिटरको घेरा भित्र बस्नुपर्नेछ। काममा जानेलाई भने विशेष छुट दिइनेछ।
-गैर-सरकारी कार्यालय र कारोवार खुल्ला रहे पनि ग्राहकलाई त्यहाँ जान प्रतिबन्ध लगाइएको छ।
-यध्यपी सुपरमार्केट र औषधि पसल भने खुला हुनेछन्।
नेतन्याहुले धार्मिक पर्व मनाइरहेका इजरायलका यहूदी समुदायलाई लकडाउनले समस्या हुने स्वीकार गरेका छन्।
'यसपटकको पर्व पहिलाको जस्तो हुनेछैन र हुनसक्छ हामीले आफ्ना आफन्तहरूसँग यो मनाउन पाउनेछैनौं', उनले भने।
दोश्रो लकडाउनले इजरायलको अर्थव्यवस्थामा नराम्रो असर गर्ने ठानिएको छ। महामारीका कारण इजरायलले यसअघि नै आर्थिक मन्दीको सामना गरिसकेको छ। त्यहाँको वित्त मन्त्रालयले यसबाट १.८८ अर्ब अमेरिकी डलरको नोक्सानी हुने अनुमान गरेको छ।
तर प्रधानमन्त्रीले महामारीको समयमा इजरायलका लागि लकडाउन आवश्यक भएको बताएका छन्।
संक्रमणसँग जुध्न नेतान्याहुले अपनाइरहेको तरिकाको आलोचना हुँदै आएको छ।
आलोचकहरूले भाइरससँग जुध्न असफल भएपछि नेतन्याहुले दोश्रो पटक लकडाउन गरेको आरोप लगाएका छन्।