अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा शिखर वार्ता सुरू भएको छ ।
दुवै नेताले निर्धारित समयमा वार्तास्थल पुगेर हात मिलाउँदै आपसमा मित्रभाव प्रकट गरेका छन्।
यसैबीच उनीहरूबीच प्रारम्भिक छलफल सुरू भएको छ। वार्ता ४५ मिनेटदेखि लिएर १ घन्टासम्म हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। वार्तास्थलमा भाषा अनुवादक समेत उपस्थित छन्।
इतिहास मै पहिलोपटक अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच भेटवार्ता भएको हो।
हालसम्म कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतासँग भेटवार्ता गरेका थिएनन्।
ट्रम्पले निकै अपेक्षा राखिएको वार्ता शान्ति प्राप्तिका लागि 'एक पटकको अवसर' भएको बताएका छन्।
शिखर वार्ताले गत वर्ष आरोपप्रत्यारोप र एकअर्कालाई चेतावनी दिने गरेका दुई नेतामा आएको नाटकीय परिवर्तनलाई इंगित गर्दछ।
उत्तर कोरियाली नेता किमसँगको भेटअघि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै वार्ताको तयारी राम्रो रहेको जनाएका छन्। तर यस्ता कुराले धेरै महत्व नराख्ने प्रष्ट पार्दै उनले भनेका छन्, ‘शिखर वार्तामा कुनै सम्झौता हुन्छ वा हुँदैन भन्ने चाँडै नै थाहा हुन्छ।’
शिखर बैठकले एउटा प्रक्रियाको शुरूवात गर्नेछ जुन प्रक्रियाले अन्ततः कोरियाली प्रायद्वीपलाई निश्शस्त्रीकरणतर्फ डोर्याउने अमेरिकी विश्वास छ। यसैबीच उत्तर कोरिया आफू निश्शस्त्रीकरणका लागि इच्छुक रहेको जनाउ दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। तर, त्यो कसरी सम्भव हुने अथवा त्यसको बदलामा उसले के खोज्नेछ त्यो स्पष्ट भइसकेको छैन।
सिंगापुरको मुख्य सहरी केन्द्रबाट केही सय मिटर टाढा रहेको एउटा प्रसिद्ध पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा दुई नेताहरूबीचको शिखर बैठक भइरहेको छ।
बैठकस्थल क्षेत्रमा गोरखा सैनिकसहित बाक्लो मात्रामा सुरक्षा परिचालन गरिएको छ।