टर्कीको अंकारास्थित अमेरिकी राजदुतावासमा सोमबार गोली प्रहार भएको छ। घटनामा कुनै हताहती भने भएको छैन।
कुल ६ गोली प्रहार भएकोमा ३ गोली दुतावासको बाहिरी सुरक्षा ढोका तथा एउटा गोली झ्यालमा लागेको अंकाराको गभर्नर कार्यालयले जनाएको छ।
ती गोलीहरू सेतो गाडीमा आएका आक्रमणकारीले गुडरहेको अवस्थामा हानेको टर्किस अधिकारीले जनाएका छन्। इद अल अदा पर्वका कारण दुतावास यो साता बन्द थियो। यसका कारण पनि मानविय क्षति हुन नपाएको बताइन्छ।
घटनामा संलग्न भएको भन्दै टर्किस प्रहरीले दुई संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको अन्तराष्ट्रिय संचारमाध्यम अलजजिराले जनाएको छ। अलजजिराका अनुसार ३० वर्ष उमेर आशपासका ती दुई व्यक्तिको साथबाट कार र पेस्तोल बरामद गरिएको छ।
अंकाराको गभर्नर कार्यलयले दुबै व्यक्ति आपराधिक पृष्ठभूमिका भएको जनाएको छ। यस्तै पक्राउ परेका दुबैले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको पनि कार्यालयको भनाइ छ।
अमेरिकी दुतावासले घटनाप्रति तीव्र प्रतिक्रिया जनाएकोमा टर्किस प्रहरी तथा सरकारलाई ट्विटरबाट धन्यवाद दिएको छ।
अमेरिकी धर्म प्रचारकलाई टर्कीमा मुद्धा चलाइएपछि पछिल्लो समय अमेरिका तथा टर्कीबीचको सम्बन्ध कटुतापूर्ण रहँदै आएको छ।