सिरियाको विद्रोही नियन्त्रित उत्तरी प्रान्त इड्लिबमा रूसी सहयोगप्राप्त सिरियाली सेनाले केही हप्तायताकै सबैभन्दा भीषण हवाई हमला गरेको सिरियाली अधिकारकर्मीहरूले बताएका छन् ।
उनीहरूका अनुसार इड्लिबका दक्षिणी भाग तथा हामा प्रान्तसँगको सीमावर्ती क्षेत्रलाई निशाना बनाइएको छ ।
इड्लिब प्रान्त विद्रोही नियन्त्रित अन्तिम महत्वपूर्ण क्षेत्र हो र रुसको सहयोगमा सिरियाली सरकारी फौजले त्यहाँ हमला गरेका हुन् ।
यसअघि रुस र इरानले मानवीय सङ्कट उत्पन्न हुनसक्ने त्रासबीच सङ्घर्षविराम गर्नुपर्ने आग्रह शुक्रवार अस्वीकार गरेका थिए ।
बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स र विपक्षी सम्बद्ध इड्लिब सञ्चार केन्द्रले शनिवार बताएअनुसार सरकारी फौजका हेलिकोप्टरहरूले इड्लिब र उत्तरी हामामा १९ वटा ब्यारेल बम खसालेका थिए ।