‘बिकिनी हाइकर’ का नामले सामाजिक सञ्जालमा लोकप्रिय ताइवानी आरोही गिगी वुको मृत्यु भएको छ।
उनी हिमाल आरोहणपछि शिखरमा पुगेर बिकिनीमा तस्बिर खिचाउँथिन् र सामाजिक सञ्जालमा पोस्ट गर्थिन्। त्यही भएर ३६ वर्षीया गिगीलाई ‘बिकिनी हाइकर’ को उपमा दिइएको थियो।
उनी एक्लै डाँडा चढ्न जाँदा भीरबाट खसेर मृत्यु भएको बिबिसीले जनाएको छ। उनको शव सोमबार फेला परेको हो।
भीरबाट खस्नेबित्तिकै उनले आकस्मिक उद्धारको निम्ति सम्पर्क गरेकी थिइन्। प्रतिकूल मौसमका कारण समयमै उद्धार हुन नसक्दा मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले लेखेका छन्।
उनको मृत्यु ‘हाइपोथर्मिया’ ले भएको हुनसक्ने बताइएको छ। हाइपोथर्मिया भनेको यस्तो मेडिकल अवस्था हो, जसमा बिरामीको तापक्रम तीव्र गतिमा घट्छ। उनी दुर्घटना पर्दा घटनास्थलको तापक्रम शून्य डिग्रीभन्दा कम रहेको बताइएको छ।
गिगी सामाजिक सञ्जालमा कतिसम्म लोकप्रिय थिइन् भने, फेसबुकले उनलाई ‘उत्प्ररेक पर्वताराही’ का रूपमा सम्मान गरेको छ।
उनी धेरै दिनदेखि ताइवानकै सर्वाधिक उचाइको युशान राष्ट्रिय निकुञ्जको पदयात्रामा थिइन्। यो पार्क करिब चार हजार मिटर उचाइसम्म फैलिएको छ। यही यात्रा क्रममा उनले डिसेम्बर २४ तारिखमा एउटा तस्बिर पोस्ट गरेकी थिइन्, जसमा उनको खुट्टामा चोट लागेको देखिन्छ।
उनले आफ्नो फेसबुक पोस्टमा पैदल यात्रा गर्दा लडेर चोट लागेको लेखेकी छिन्। ‘धन्न यति मात्र घाइते भएँ, म योभन्दा निकै तल झर्न सक्थेँ,’ उनले भनेकी थिइन्।
आखिरमा यही यात्राले उनले ज्यान लियो।
अनुभवी आरोही भए पनि गिगीको बढी चर्चा हिमाल आरोहणभन्दा सामाजिक सञ्जालमा सेयर गरेका तस्बिरबाट भयो। उनी आफ्नो आरोहण क्रममा चाहिने उपकरण र सावधानीमा सधैं गम्भीर रहन्थिन्।
ताइवानी सञ्चारमाध्यमका अनुसार उनी दुर्घटना परेको खबर पाए पनि खराब मौसमका कारण तत्काल हेलिकप्पटर जान सकेन। तीनचोटि प्रयास गर्दा पनि हेलिकप्टर घटनास्थल पुग्न नसकेपछि उद्धार टोलीलाई पैदल पठाइएको थियो।
गिगीले सन् २०१८ मा दिएको एक अन्तर्वार्तामा बिकिनी लगाएर तस्बिर खिचाउनुको कारण खुलाएकी छन्। भनेकी छन्, ‘मैले साथीसँग बाजी थापेकी थिएँ। बाजी हारेँ, त्यसपछि शिखरमा बिकिनी लगाएर फोटोसुट गर्न थालेँ।’
फेसबुकमा उनको अन्तिम पोस्ट जनवरी १८ को छ, जसमा हिमालको दृश्य देखिन्छ। उनलाई १८ हजारभन्दा बढीले फेसबुकमा पछ्याएका छन्। उक्त तस्बिर राखेयता हजारभन्दा बढीको प्रतिक्रिया आइसकेको छ। दुर्घटनाको खबर आएलगत्तै धेरैले उनको उद्धारबारे चासो देखाएका थिए।
उनका एक प्रशंसकले फेसबुकमा लेखका छन्, ‘अतिसुन्दर र साहसी। हिमालका मनोरम दृश्यहरू हामीसँग बाँडेकामा धेरै धेरै धन्यवाद।’