काठमाडौंमा शाकाहारबारे अन्तरराष्ट्रिय सम्मेलन हुने भएको छ। नेपाल शाकाहारी संघको आयोजनामा सम्मलेन भदौ २३, २४ र २५ गते महेन्द्र पुलिस क्लबको सभाकक्षमा चल्ने बताइएको छ।
यो स्तरको शाकाहारी सम्मेलन नेपालमा पहिलो पटक हुन लागेको हो। नेपाल शाकाहारी संघका अध्यक्ष हरिकुमार सिलवालका अनुसार उक्त सम्मेलनसँगै शाकाहारी खाना महोत्सवको कार्यक्रम समेत हुनेछ।
यो सम्मेलन एशिया प्यासिफिक भेजेटेरियन कंग्रेसको ८ औँ संस्करण हो। सम्मेलनमा करीब ३०० जना राष्ट्रिय प्रतिनिधिहरू, १५० जनाअन्तर्राष्ट्रिय प्रतिनिधिहरू र १० हजार जनाको सहभागीहरूको सहभागिता रहने अनुमान रहेको सिलवालले बताए।
उनले भने, ‘गौतम बुद्धको जन्मभूमि र शिवजीको तपोभूमिसमेतमा शाकाहारबारे यत्रो सम्मेलन हुनु हाम्रा लागि गौरवको विषय हो,’ सिलवालले भने, ‘करुणा, प्राणी अधिकार, अहिंसा, शाकाहार, मानव स्वास्थ्य, वातावरणजस्ता गहन विषयमा यो कार्यक्रममा वैज्ञानिक छलफल गरिनेछ।’
कार्यक्रममा डाक्टरहरूद्वारा स्वास्थ्य परामर्श, विद्यार्थीहरूबीच दया, करुणा र प्राणी अधिकार विषयमा पोष्टर, कविता तथा वक्तृत्वकला प्रतियोगिता, शाकाहारी स्वस्थकर परिकारहरूको पाककला प्रदर्शनीलगायतका विविध सांस्कृतिक कार्यक्रमहरू हुने बताइएको छ।