उत्पादक किसानले उखुको मूल्य बढाउन माग गरेका छन्। नयाँ क्रसिङ सिजनका लागि तयार उखुको मूल्य बढाएर चाँडो निर्धारण गर्नुपर्ने उनीहरुको माग छ।
आज चिनी उत्पादक कम्पनीहरुसँग राजधानीमा भएको छलफलमा किसानले प्रतिक्विन्टल ५६२ रुपैयाँ मूल्य दिनुपर्ने माग गरेका छन्।
उद्योगीले भने ५ सय रुपैयाँ मात्रै दिन सकिने बताएका छन्। अखिल नेपाल उखु उत्पादक संघका अध्यक्ष कपिलमुनि मैनालीले उद्योगी र किसानबीच मूल्यमा सहमति हुन नसकेको बताए।
आफूहरुले प्रतिक्विन्टल ५६२ रुपैयाँ मागे पनि उद्योगीले ५ सय भन्दा बढी नदिने अडान राखेको उनले जानकारी दिए। गत वर्ष ५३१ रुपैयाँ तोकिएको थियो।
अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य घटेको भन्दै उद्योगीले किसानलाई बढी दिएर प्रतिस्पर्धा गर्न नसकिने जिकिर गरे। वर्षेनि उखुको मूल्य निर्धारणमा किसान र उद्योगीबीच विवाद रहँदै आएको छ।
उखुमा लागत बढ्दै जाने तर सोअनुसार मूल्य नपाउँदा उखु किसान मारमा पर्दै आएका छन्। उखुको खेती गर्दा अन्य बाली लगाउन नपाइने र लागत नउठ्ने भएपछि कैयौं किसान खेतीबाट पलायन भइसकेका छन्।
दिनप्रतिदिन उखु उत्पादनमा लागत बढ्दै गएकाले पुरानो मूल्यमा बिक्री गर्न नसकिने मिलगेट उखु उत्पादक संघका अध्यक्ष बेद बहादुर बुढाथोकीले बताए।
लागतलाई उचित सम्बोधन गदै उखु किसानलाई खेतीमा आकर्षित गर्न उनले आग्रह गरे। ‘उचित मूल्य नपाएकै कारण उखु किसानले खेती छाड्दै गएका छन्, भएका किसानले पनि उचित मूल्य नपाउँदा यसले आगामी दिनमा अर्थतन्त्रमै प्रभाव पर्दछ’ उनले भने।
उद्योगीले चिनीको मूल्य वृद्धि गर्दै लगे पनि सोअनुसार उखुमा आफूहरुलाई नदिइएको उनको गुनासो छ। खेतको जोताई, रासायनिक मल, कटान, ढुवानी लगायतका सम्पूर्ण खर्च दोब्बर भईसकेको बताउँदै किसानले पहिलेको मूलयमा उखु बेच्नै नसकिने बताएका छन्।
कात्तिकदेखि फागुनसम्म सम्पूर्ण उखु क्रसिङ्ग गरिसक्नु पर्ने माग पनि किसानले गरेका छन्। फागुनपछि उखुमा रस सुक्दै जाने र तौल कम भई आफूहरुलाई मार पर्ने उनीहरुको भनाइ छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि चिनीमा भन्सार शुल्क ५० प्रतिशत पुर्याउन भन्दै उद्योगीले चर्को दवाव दिँदै आएका छन्।
संघका अनुसार गत वर्ष देशमा १ करोड ३६ लाख क्विन्टल उखु उत्पादन भएको थियो। यो वर्ष भने डेढ करोड क्विन्टल उत्पादन हुने अनुमान गरिएको छ।
तराईका सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सुनसरी, रौतहट, बारा, पर्सा, नबलपरासी, रुपन्देही लगायत जिल्लाका सयौं किसानले व्यावसायिक रुपमा उखु खेती गर्दै आएका छन् ।