चिया उत्पादन हुने याम सकिँदै गएपछि अग्र्यानिक चिया विदेशमा मागअनुसार पु¥याउन नसकिएको चिया व्यवसायीले बताएका छन् ।
इलाम नगरपालिका–२ मा सञ्चालन भइरहेको जस्विरे चिया कारखानाका सञ्चालक शरद सुब्बाले विदेशमा अग्र्यानिक चियाको मागअनुसार पुर्याउन नसकिएको बताए ।
चियाको याम सकिएर कारखानामा दैनिक ५०० किलो मात्र हरियोपत्ती आउने गरेको सुब्बा बताउछन् । कारखानाले २५ प्रकारका चिया उत्पादन गर्दै आएको छ । कारखानामा उलन, ह्वाइट र ब्ल्याक चिया धेरै उत्पादन गरिँदै आएको छ ।
कारखानाले उत्पादन गरेको चिया चीन र युरोपियन मुलुकमा जाने गरेको छ । कारखानामा दैनिक एक हजार किलोग्रामसम्म तयारी चियाको माग आइरहे पनि पुर्याउन नसकिएको हो ।
बाह्य मुलुकको मागअनुसार पुर्याउन नसक्दा स्थानीयस्तरमासमेत बिक्रीका लागि व्यवसायीले पाउन सकेका छैनन् । कारखानाले यतिबेला मागअनुसार मात्र चिया उत्पादन गर्ने गरेको सुब्बाको भनाइ छ ।
कारखानामा उत्पादन भएको चिया प्रतिकिलो रु ८०० देखि १५ हजार सम्ममा बिक्री हुँदै आएको छ । कारखानाले आफ्नै ५० रोपनी जमिन र भाडामा १०० रोपनी गरी डेढ सय रोपनीमा चिया खेती गरेको छ । कारखानामा छ जना पुरुष कामदारसहित २० जनाले रोजगारी पाएका छन् ।
कारखानाले अहिले उन्नति समावेशी परियोजनाको सहयोगबाट चिया प्रशोधन गर्ने नयाँ मेसिन खरिद गरी एउटा नयाँ कारखाना भवन निर्माण सम्पन्न गरेको छ । मंसिर पहिलो हप्तामा उन्नतिकै सहयोगमा किसानलाई अग्र्यानिक चिया उत्पादनसम्बन्धी तालीम दिइएको छ ।
सो कारखानाले उन्नतिबाट रु एक करोड २८ लाख सहयोग प्राप्त गरेको सञ्चालक सुब्बाले बताए ।
–––