जिल्लाको ढिकुराको माहुरीपालक कृषक शुभप्रकाश खनाल अचेल माहुरीको स्याहारसुसारमा व्यस्त छन्। मौरीपालन शुरु गर्नुभन्दा पहिले उनी भारतमा मजदुरी गर्न जान्थे।
खनालले एक हप्तामा आधुनिक घारबाट पाँच किलो मह काढ्छन्। मुढे घारमा भन्दा आधुनिक घारमा बढी मह उत्पादन हुने उनी बताउछन्। खनालसँग अहिले ४२ आधुनिक घार र १० वटा मुढेघार रहेका छन् ।
“दुई क्विन्टल मह उत्पादन गर्ने लक्ष्य छ,” उनले भने।
मौरीपालन व्यवसायबारे जानकारी लिन विभिन्न जिल्लाबाट कृषक उनको घरमा आउने गरेका छन् । विसं २०४५ देखि खनालले सो व्यवसाय सुरु गरेका हुन्।
“व्यवसाय शुरु गरेको तीन वर्षमै सबै घार रित्तिए, हतार नगरीकन बसेँ, विस्तारै व्यवसाय फस्टाउँँदै गयो,” उनले विगत सुनाए।
उनी जिल्लाकै नमूना कृषक हुन्। उनले पशुपालन, तरकारीखेती, फलफूल खेती र कफी खेती समेत गर्दै आएका छन्। जिल्लामै पहिलोपटक मौरीपालन व्यवसाय शुरु गरेका खनालले अहिलेसम्म सरकारी अनुदान पाएका छैनन्।
जिल्लामा अहिले वार्षिक नौ मेट्रिक टन मह उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत थिरलाल गैरेले बताए।यसबाट ९० लाख आम्दानी भएको छ । जिल्लाका ठाडा, ढिकुरा, धनचौर, नुवाकोट, अर्घातोष र सुवर्णखाललाई मौरी पकेट क्षेत्र घोषणा गरिएको छ । रासस