एक महिनाको अवधिमा ११८ प्रतिशतले सागको भाउ बढेको छ। फागुन अन्तिमसम्म ४८ रुपैयाँ प्रति केजी रहेको सागको भाउ चैत सम्म आइपुग्दा ११८ रुपैयाँ पुगेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार एक महिनाको अवधिमा रायो, पालुङ्गो, चम्सुर, तोरी, मेथी, र जीरीको सागको भाउ आकाशिएको हो।
कालीमाटीका खुद्रा व्यापारी गुणराज सापकोटाका अनुसार अफसिजन भएकाले सागको मूल्य महँगो भएको हो। ‘सागको सिजन सुरु भइसकेको छैन। अलि अलि फलेको साग अहिले बजारमा आइरहेको छ त्यसैले महँगो छ’, सापकोटाले भने।
सागको भाउ अझै केहि महिना नघट्ने सापकोटाले बताए। असारबाट पूर्णरुपमा सिजन सुरु हुने र त्यसपछि मात्र सागको भाउ घट्ने सापकोटाको भनाई छ।
सापकोटाका अनुसार उपत्याकामा भक्तपुर, धादिङ, मकवानपुर लगायतका जिल्लाबाट साग भित्र्ने गर्छ।
त्यस्तै सिजन चलिरहेको तरकारीको भाउ सस्तो भएको र सिजन सुरु नभई सकेको वा सकिसकेको तरकारीको मूल्य महँगो रहेको सापकोटाले जनाए।
‘जसको सिजन चलिरहेको तरकारीको भाउ केहि सस्तो छ भने सिजन नभएकाको महँगो। सिजन अनुसार स्वतः रुपमा घटबढ भइरहन्छ’, सापकोटाले भने।
तर सागबाहेकको अन्य तरकारीको बजार मूल्य भने औषत रहेको छ। यस अवधिमा गान्टे मुला, काउली, ब्रोकाउली र च्याउको मूल्यमा वृद्धि भएको छ भने भान्टा, तिते करेला, फर्सी लगायतका तरकारीको भाउ घटेको छ।
यसअवधिमा साग बाहेक गान्टे मुलाको भाउ सबैभन्दा बढेको छ। एक महिनाअघि प्रति केजी ४८ रुपैयाँ गान्टे मुलाको भाउ अहिले ११८ प्रतिशतले बढेर १०५ पुगेको छ।
हरियो धनियाको भाउ प्रति केजी ६५ बाट १३५ रुपैयाँ पुगेको छ। एक महिनामा हरियो धनियाको भाउ १०७ प्रतिशतले बढेको छ।
हरियो लसुनको मूल्य समेत ६१ प्रतिशतले बढेर ६५ रुपैयाँ प्रति केजीबाट १०५ पुगेको छ। त्यस्तै प्रति केजी ४५ रुपैयाँ रहेको काउलीको भाउ ४४ प्रतिशले बढेर ६५ पुगेको छ भने ब्रोकाउली ४५ बाट ७५ रुपैयाँ पुगेको छ।
त्यस्तै एक महिनामा च्याउको मूल्य ५८ प्रतिशतले बढेको छ। यसअवधिमा च्याउ प्रति केजी १५५ रुपैयाँबाट २५५ पुगेको छ। यसअवधिमा बन्दा प्रति केजी ४८ बाट ५८ रुपैयाँ, ग्याठ कोबी ४८ बाट ५८ रुपैयाँ पुगेको छ।
त्यस्तै सोही अवधिमा भान्टा डल्लो ८५ प्रति केजीबाट घटेर ४५ रुपैयाँमा झरेको छ। यसबाहेक तिते करेला १९० बाट ८५, मटरकोशा ६५ बाट ५५, फर्सी ७५ बाट ५५ रुपैयाँ पुगेको हो।
त्यस्तै भिण्डी ४० प्रतिशतले घटेर १२५ बाट ७५, हरियो खुर्सानी ११५ बाट ५५, घिउ सिमी ९५ बाट ८५, गोलभेडा ५५ बाट ४५ रुपैंयाँमा झरेको छ।
यसअवधिमा अधिकांश फलफूलको मूल्य समेत बढेको छ। यसमा कागतीको मूल्यमा १८२ प्रतिशतको वृद्धि भएको छ। प्रति १०० गोटा कागतीको मूल्य ५७५ बाट बढेर १६२५ रुपैयाँ पुगेको छ।
त्यस्तै प्रति केजी नासपाती ११५ बाट १७५रुपैयाँ, मौसम १०५ बाट १५०, सुन्तला १०५ बाट ११५, काँक्रो ४५ बाट ८५ रुपैयाँ पुगेको छ।