आज १५ औं राष्ट्रिय धान दिवस देशभर मनाईँदै छ। नेपालमा धानको उत्पादनलाई बढावा दिन २०६१ सालदेखि असार १५ गतेलाई राष्ट्रिय धान दिवस मनाउन लागिएको हो।
धान दिवसको यस बर्षको नारा ‘धान उत्पादनमा बृद्धिः राष्ट्रको सम्बृद्धि’ तय गरिएको छ । विशेष गरी आजको दिन धान रोपाई गरी दही र चिउरा खाएर मनाउने प्रचलन छ। आजको दिनलाई कृषि पर्वको रुपमा पनि मनाइँदै आएको छ।
कृषि सभ्यतामा असार महिनालाई मानो रोपेर मुरी उब्जाउने अवसरको रुपमा लिने गरिन्छ। धानदिवस मनाउँदै गर्दा यस वर्ष रूपन्देहीमा अहिलेसम्म २० प्रतिशत रोपाई भएको छ।
जिल्लाको देवदह, केरवानी, सिक्टहन, मक्रहर, शंकरनगर, फर्साटिकर लगायतको क्षेत्रमा रोपाई शुरु भएको छ। आज रुपन्देहीको बाँसगढीमा जिल्ला कृषि विकास कार्यालयले धान दिवस मनाउँदै छ।
असार १५ का दिन एकपटक भए पनि हिलो कुल्चनु भन्ने मान्यता अनुरुप अधिकांश किसानहरुले आज रोपाई गर्ने गर्छन्। यस दिन रोपाईँलाई पर्वको रुपमा मनाइने हुँदा खेतको हिलामा पसेर असारे गीत गाउंदै धान रोप्ने गरिन्छ ।
यसरी हिलो खेल्दा एकातिर आपसमा मित्रता बढेर हर्ष खुशी छाउने कुण्ठा हट्ने गर्छ भने अर्कातिर चर्मरोग पनि निको हुने जनविश्वास रहेको छ। रोपाईँ गरेर थाकेको अवस्थामा पोषिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही चिउरा र अचारको खाजा खाने गरिन्छ।
यसले नेपाली समाजमा पूर्वीय परिकारको रुप लिएकाले असारमा दही चिउरा साउनमा खीर खाने चलन छ। वर्षकै सबैभन्दा लामो दिन मानिने नेपाली समाजमा आजदेखि दिन छोटा र रात लामा हुने हुँदा हिउँदको शुरुवात भएको मानिन्छ।
नेपालमा १५ लाख ५२ हजार ४ सय ६९ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गर्छ। जसमध्ये प्रदेश नं. ५ मा मात्रै ३३ हजार ४ सय २६ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ।
क्षेत्रफलको हिसाबले समग्र प्रदेश नं. ५ मा २१ प्रतिशत हुन आउँछ। यो प्रदेशमा १२ लाख ७४ हजार २ सय ६८ मेट्रिकटन धान उत्पादन हुने मन्त्रालयका सचिव यामनारायण देवकोटाले जानकारी दिए। नेपालमा कुल ५२ लाख ३० हजार ३ सय २७ मेट्रिकटन धान उत्पादन हुने तथ्याङक छ ।
उत्पादन तर्फ भने कुल उत्पादनको २४ प्रतिशत प्रदेश न. ५ मा धान उत्पादन हुने सचिव देवकोटाले बताए। प्रदेश नं. ५ मा १९ लाख ६९ हजार ७ सय ७६ हेक्टर क्षेत्रफल रहेकोमा खेतीयोग्य जमिन ६ लाख ९७ हजार ३ सय ३३ रहेको मन्त्रालयको दावी छ ।
जसमा ५ लाख ३९ हजार २ सय ६३ हेक्टरमा खेती गरिएको छ । २ लाख ७६ हजार ८ सय १९ हेक्टर क्षेत्रफलमा सिंचाईको सुविधा रहेको उनले बताए । नेपालमा हालसम्म ६२ वटा धानका जातहरु उन्मोचन गरिएको मध्ये ३६ वटा धानहरु पञ्जिकरण मात्र गरिएको छ ।
कृषिलाई व्यवसायीकरण गर्ने अभियान सरकारले थालेपछि सार्थकता नभएको सचिव देवकोटाको भनाई छ ।
सिंचाइ प्रयाप्त नहुनु, माटोमा प्राङगारिक पदार्थको कमी, नेपालको बर्णशंकर जात नहुनु, उन्नत बीउको पूर्ण उपलब्धता नहुनु, भारतीय खुला बोर्डर धान तथा बीउको अबैधानिक आयात निर्यात, भात प्रतिको आकर्षण बढ्नु तथा अन्य खाद्यान्नको उपभोग घट्नु, मसिनो चामलको माग संगै आयात बढेका कारण उत्पादनमा चुनौती र समस्याहरु रहेको बताए ।
त्यस्तै उत्पादन लागतको तुलनामा प्रतिफल कम हुनु, उत्पादनशिल जमिन घडेरीमा परिणत हुनु र भूमिको खण्डिकरणले यान्त्रिकरणमा असहजता भएका कारण पनि उत्पादनमा चुनौती रहेको उनको भनाई छ ।
सचिव देवकोटाले धानको उत्पादनमा गुणात्मक बृद्धि गर्न भू उपयोग नीति कार्यान्वयन गर्न जरुरी रहेको बताए । त्यस बाहेक सिंचाई विस्तार, चैते धान विस्तार र बिक्रि व्यवस्थापन, न्यूनतम समर्थन मूल्य कायम, यान्त्रिकरण मार्फत् उत्पादन लागत न्यूनिकरण, परिकार बिबिधिकरण, अत्याधुनिक प्रशोधन मिलहरु स्थापना, प्राबिधिक सेवा विस्तार गर्नुपर्ने उनले बताए ।