धान उत्पादनको हिसाबले एकचौथाई भार बोकेको पाँच नं. प्रदेशमा बाजागाजासहित हर्षोउल्लासका साथ १५ औं राष्ट्रिय धान दिवस मनाईएको छ।
प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रुपन्देहीको सैनामैना नगरपालिकाको बाँसगढीमा १५ औ राष्ट्रिय धान दिवश मनाएको छ।
मुख्यमन्त्री शंकर पोखरेल सहित प्रदेशका मन्त्रीहरु, प्रदेश सभाका सदस्यहरु, कृषि क्षेत्रमा क्रियाशिल बिभिन्न संघ संस्थाका प्रमुखहरु सहित सयौ जनाको सहभागितामा स्थानीय किसानको खेतमा सामुहिक धान रोपेर दिवस मनाईएको हो।
घाँटीमा दुबोको माला पहिरिएर हिलोमा धान रोप्न खेतमा पुगेका मुख्यमन्त्री पोखरेलले कृषिको माध्यमबाट समग्र प्रदेशको समृद्धिको आधार तय गरेको र यान्त्रीकरणको लागि बजेटको व्यवस्था गरेको बताए।
उनले प्रबिधिको प्रयोग गरी कृषिलाई व्यवसायीकरण गरेर अघि बढे मात्र किसानले यसबाट लाभ लिन सक्ने बताउँदै यान्त्रिकरणका लागि किसानलाई बिशेष अनुदानको व्यवस्था गरिएको बताए।
१५ औ राष्ट्रिय धान दिवसका अवसरमा रुपन्देहीका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका लगायतका सबैजसो स्थानीय तहहरुले आआफ्नै तवरले सामुहिक रोपाई कार्यक्रम गरेका छन्।
त्यस्तै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चक्रपाणी खनालले अबको पाँच वर्षमा अहिले भएको कृषि उत्पादनलाई दोब्बर बनाउने गरी सरकारले योजना बनाएको बताएका छन्।
देशका युवाहरु विदेश पलायन हुने र जमिन बांझो हुने समस्यालाई अन्त्य गर्न सरकारले कृषिमा थुप्रै सहयोग र सहुलियत दिन विभिन्न कार्यक्रम अघि सारेको उनले बताए।
लुम्बिनी विकासकोषले शुक्रवार कपिलवस्तु नगरपालिका वडा नं. ३ तिलौराकोटमा आयोजना गरेको धान दिवसको अवसरमा बोल्दै मन्त्री खनालले खेतीयोग्य जमिन बाँझो राखेर वर्षेनि २५ अर्बको चामल आयात गर्नुपर्ने अवस्थाको अन्त्य गरेर छोड्ने बताए।
सिंचाईको लागि राज्यले लगानी नगरेसम्म कृषि उत्पादनमा वृद्धि गर्न नसकिने भन्दै मन्त्री खनालले सिंचाईको लागि तीन तहमा योजना अघि सारेको बताए ।
तत्कालको सुविधाको लागि वर्षाको पानी संकलन, नदि तथा खोलाबाट बाँध सुधार र अन्य क्षेत्रका खोलाहरुलाई डाईभर्सन गरेर भएपनि तराईको खेतीयोग्य जमिनमा प्रयाप्त सिंचाई पु¥याउने उनले दावी गरे।