जुम्लाको पातारासी गाउँपालिका– ६ की सपना विष्टलाई पहिले भात खानका लागि चामल किन्नै मुस्किल पर्थ्यो। सदरमुकामस्थित खाद्यान्न डिपोबाट हप्तामा एक परिवारलाई ५ किलो चामल वितरण गरिँदा सपना दिनभर लाइन लाग्थिन्। बजारबाट धेरै चामल किन्न उनीसँग पैसा हुन्थेन।
पछिल्लो ३ वर्षयता उनको यो समस्या अन्त्य भैसकेको छ। त्यसअघि परम्परागत खेती हुने जग्गामा अहिले स्याउका रुख छन्। वार्षिक कारोबार कम्तिमा १२ लाख रुपैयाँ हुने र ८ लाखजति नाफा हुने सपना बताउँछिन्।
उनको परिवारलाई आर्थिक रुपमा बलियो बनाउने तीन वटा स्याउ फारम छन्। ती फारममा सिजनमा धेरैले रोजगारी समेत पाउँछन्। ‘अहिले स्याउ भएका ठाममा पहिले मकै र कोदो लाउँथ्यौँ, खानै नपुग्न्या’ सपनाले भनिन्, ‘स्याउ लाइना सुुरु अर्याछि रुपियाँ राम्रै कमाई भया छ।’
स्याउकै आम्दानीबाट नन्दलाई स्टाफनर्स दुई छोराछोरीलाई बोर्डिङ पढाएको उनले बताइन्। अहिले उनले सबै खर्च कटाएर आम्दानी भएको रकम बैंकमा जम्मा गर्ने गरेकी छन्।
माटो र हावापानी अनुकुल हुने खेतीबारे जानकारी नपाउँदा केही वर्ष अघिसम्म परम्परागत खेती गर्ने गरेका जुम्ला र कालिकोटका किसानहरु पछिल्लो समय उपयुक्त हुने व्यवसायिक खेतीतर्फ लागेका छन्।
नेपाल सरकार तथा केही गैरसरकारी संघ/संस्थामार्फत स्थानीय हावापानी अनुसारको खेतीबारे जानकारी भएपछि यस क्षेत्रका कृषकहरु स्याउ र तरकारी खेतीतर्फ आकर्षित बनेका हुन्। किसानले स्याउ र तरकारीका बिउदेखि फलसम्म छुट्टाछुट्टै उत्पादन गर्न थालेका छन्। केही व्यवसायिक बाख्रापालनमा सक्रीय भएका छन्।
जुम्लाको चन्दननाथ गाउँपालिका–९ उम्गाडका रतनबहादुर रावल र उनकी श्रीमती हाँसु रावल दुवै व्यावसायिक कृषिमा सक्रिय छन्। रतनले आफ्नो नर्सरीमार्फत स्याउ तथा आरुका बिरुवा उत्पादन गर्छन् भने हाँसु गाजरको बिउ उत्पादन गर्छिन्।
केही वर्षअघि रोजगारीको सिलसिलामा भारतको हिमाञ्चल प्रदेश गएका रतनले कृषि क्षेत्रमा नै काम गर्ने अवसर पाए। त्यहाँ आफूले सिकेको सीप गाउँमा आएर आफ्नै बारीमा प्रयोग गरेपछि पछिल्लो समय उनले लगातार रुपमा २ जनालाई रोजगारी दिइरहेका छन्।
२०५६ सालमा १ लाख रुपैयाँको लगानीबाट सुरु गरेको व्यवसायमार्फत अहिले उनी वार्षिक ९ देखि १० लाख रुपैयाँसम्मको कारोबार गर्छन्। त्यसमा बचत ४ देखि ५ लाख रुपैयाँसम्म हुने गरेको उनले बताए।
‘सबै फलफुलको गरी वर्षमा २५ हजारभन्दा धेरै बिरुवा उत्पादन हुन्छ’ रतनले भने, ‘उत्पादित बिरुवा सरकारी रेटअनुसार विक्री हुन्छन्।’ आफूले उत्पादन गरेका बिरुवा मनाङ, मुस्ताङ, हुम्ला, मुगु, कालिकोट, बाजुरा र डोल्पा जिल्लासम्म पुग्ने गरेको उनले बताए।
रतनकी श्रीमती हाँसुले करिब ३ रोपनी जग्गामा गाजरको बिउ उत्पादन गर्ने गरेकी छन् । प्रति किलो ६ सय रुपैयाँमा बिक्री हुने गाजरको बिउ हाँसुले एक सिजनमा ५० किलोभन्दा धेरै उत्पादन गर्ने गरेको बताउँछिन्।
गत वर्ष मात्र स्याउ बेचेर साढे दुई लाख आम्दानी गरेकी पातारासी गाउँपालिका–६ उर्थुगाउँकी मागी विष्ट यस वर्ष असिनाले फूल झारेपछि चिन्तित छिन्। उनका तीन वटा स्याउको बगैँचा छन्। परिवारका सबै सदस्यहरु ती बगैँचामा व्यस्त हुन्छन्। ‘पहिला वर्षभरी दुखः गरिकन ६ महिना मात्र खाना पुग्थ्यो’ परम्परागत खेती गर्ने बेलाको समस्याबारे बताउँदै मागीले भनिन्, ‘स्याउ खेत अर्न लाग्या १०/१२ वर्ष भयो, राम्रो कमाई भया छ।’
जुम्लाकै पातारासी गाउँपालिका–७, रिनीगाउँमा कृषि वस्तु विकास आयोजनामार्फत गठन गरिएका तीन वटा कृषक समूहहरु छन्। महादेव बिउ बैंक समूह, मष्टा फलफुल तथा कृषक समूह र कुन्थवाडा बिउ, आलु उत्पादन कृषक समूहमा उक्त गाउँका १७५ घरधुरी आवद्ध छन्।
ती विभिन्न समूहमध्येका कुन्थवाडा बिउ, आलु उत्पादन कृषक समूहमा आवद्ध भदुरी बुढाले आलु खेतीबाट वार्षिक ८० हजार रुपैयाँ बचत गर्छिन्। अर्की चुट्कला बोहराले एकदेखि डेढ लाखसम्म आम्दानी गर्छिन्। यस्तै, मष्टा फलफुल तथा कृषक समुहमा आवद्ध पम्फा बुढाले आलु खेतीबाट एकदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी गर्छिन्।
व्यवसायिक रुपमा तरकारी खेती गर्न थालेपछि आफूहरुको कालापहाड जाने समस्या अन्त्य भएको बताउँछन् कालिकोट खाँडाचक्र नगरपालिका–५ का धनबहादुर कार्की र गोर्खबहादुर कार्की। ‘पहिले रुपियाँ कमाउन गाउँका सबै लोग्ने मानिस कालापहाड जान्थ्यौँ’ गोर्खले भने, ‘अब एक समूहकन आवद्ध भै तरकारी लगाउन थालेपछि कालापहाड छुट्यो।’ स्थानीय धनबहादुर कार्की आफूले तरकारी खेतीबाट वार्षिक दुईदेखि अढाई लाख रुपैयाँसम्म बचत हुने गरेको बताउँछन्।
व्यवसायिक कृषिमा ‘आयोजना’को सहयोग
हाल जुम्ला र कालिकोटसहित कर्णाली प्रदेशका विभिन्न सात जिल्लाहरुमा उच्च मूल्य कृषि वस्तु विकास आयोजना (एचभिएपी)अन्तर्गत किसान परियोजना लागू भएको छ। किसानको जीवनस्तर उकास्न सघाउ पुर्याउने उद्देश्यका साथ लागू भएको परियोजनामार्फत आयोजनाले अनुदानस्वरुप कृषिमा लगानी गर्ने गरेको छ।
स्याउ उत्पादनतर्फ कालिकोट र जुम्लामा गरि ६९ समूह बनाइएको र ती समूहमा २०४४ घरधुरी आवद्ध भएको उच्च मुल्य कृषि वस्तु विकास आयोजना सुर्खेतले जनाएको छ। जसमा आयोजनाका तर्फबाट हालसम्म ८ करोड ९५ लाख ९७ हजार रुपैयाँ लगानी गरिएको आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीले जानकारी दिए।
यस्तै, आयोजना लागू भएको जिल्लाहरुमा बेमौसमी तरकारी खेतीतर्फ १४९ समुह रहेका छन्। जसमा ४ हजार १९६ घरपरिवार आवद्ध रहेको उनले जानकारी दिए। आयोजना लागू भएका सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, सल्यान, जाजरकोट र अछाममा गरी ४८६ सहकारीहरु आयोजनासँग आवद्ध रहेको आयोजना प्रमुख भारीले जानकारी दिए।
उनका अनुसार आयोजनामार्फत ४६ हजार किसानलाई सामाजिक परिचालनसम्बन्धी तालिम प्रदान गरिएको छ भने ६ हजार ४८४ कृषकहरुले व्यावसायिक साक्षरता कक्षा लिएका छन्। आयोजनाले कृषकहरुलाई उत्पादित वस्तुको ढुवानी तथा बजारीकरणमा सघाउ पुर्याउन सडक, भवन, संकलन केन्द्रलगायतका भौतिक पूर्वाधारहरुमा ७० प्रतिशत लगानी गर्ने गरेको प्रमुख भारीले बताए।
सबै तस्वीरः दिपकजंग शाही/सेतोपाटी