पश्चिम क्षेत्रका किसानले यो वर्षको धानबालीका लागि समयमै मल पाएका छन्। खेती गर्ने सिजनमा सधै भारतीय सिमा बजारमा मल खोज्न पुग्ने किसानहरु यो वर्ष भने समयमै आपूर्ति भएपछि खुसी भएका हुन्।
यो वर्ष कृषि सामाग्री कम्पनी क्षेत्रीय कार्यालय भैरहवाले समयमै मल आयात गरी वितरण गरेको छ। किसानहरुले चाहेजति मल पाएको कम्पनीले जनाएको छ।
कम्पनीका प्रबन्धक राजेन्द्रबहादुर कार्कीले यस वर्ष ८९ हजार ७ सय ३७ टन रासायनिक मल आयात गरेको र ८८ हजार ६ सय ९३ टन मल पश्चिमका सबै जिल्लामा पठाएको जानकारी दिए।
आयात गरेको मलमध्ये १ हजार ४४ टन मात्रै बाँकी रहेको कम्पनीले जनाएको छ। किसानहरुले समयमै चाहेजति मल पाएकाले यो वर्ष धानको उत्पादन बढ्ने अनुमान छ।
विगतका वर्षहरुमा मलको अभाव हुँदा किसानहरु भारतीय बजारबाट कम गुणस्तरको मल खरिद गर्न बाध्य हुँदै आएका थिए। जसबाट किसानलाई लागत खर्च बढी हुने र अर्कोतर्फ माटोको उर्वराशक्तिमा ह्रास आउने गरेको विज्ञहरु बताउँछन्।
अवैधानिक रुपमा भारतबाट आयात गरिएको त्यस्तो गुणस्तरहीन मलले उत्पादनमा ह्रास आउन थालेको भन्दै कृषि विज्ञहरुले यो वर्ष सममयै मल आयात गर्न दवाव दिएका थिए।
धान बालीको लागि अत्यावश्यक मानिएको यूरिया, डिएपी र पोटास मल वितरणको जिम्मा कृषि सामाग्री कम्पनीलाई छ। कम्पनीले यसवर्ष यूरिया ५६ हजार ४८ टन खरिद गरेको थियो। जसमा ४१ हजार एकसय ८८ टन मल विभिन्न जिल्लाहरुमा पठाईएको छ भने कार्यालयबाट १४ हजार २ सय ६८ टन विक्री वितरण गरी सकिएको छ। अझै तीन हजार २१ टन मल कम्पनीमै स्टक छ।
यस्तै डिएपी पनि ३१ हजार ३ सय ६९ टन आयात गरिएको थियो। जसमा २४ हजार ३ सय ६० टन बाहिरी जिल्लाहरुमा पठाईएको छ भने कार्यालयबाट ७ हजार १० टन बिक्री वितरण गरिएको र ५० टन अझै स्टक रहेको कार्कीले बताए।
उनका अनुसार पोटास २ हजार ३ सय २० टन खरिद गरिएको थियो। जसमा १ हजार ४ सय ९९ टन बाहिरी जिल्ला पठाइ सकिएको छ भने ३ सय ६८ टन विक्री वितरण गरिएको छ। ४ सय ५३ टन अझै स्टक रहेको कार्यालयले जनाएको छ।
कृषि प्राविधिकका अनुसार डिएपी, यूरिया र पोटास प्रति कठ्ठा ३ः२ः१ को समिश्रणमा राख्नुपर्छ। जसले उत्पादन र उत्पादकत्व बढाउँछ। उत्पादन बृद्धि गर्नका लागि डिएपी र पोटास धान रोप्नुपूर्व खेतमा हाल्नुपर्छ।
पोटास नराख्दा धानमा किरा लाग्ने हुनाले उत्पादनमा ह्रास आउन सक्छ। पोटासले किरा मार्न र माटो खुकुलो पार्न मद्दत गर्छ। यूरिया धान रोपेपछि कम्तिमा तीन पटक प्रयोग गर्नुपर्छ। यूरिया धान रोपेको १५/२० दिनपछि पहिलो पटक र दोस्रोपटक ठीक २० दिनपछि एवं तेस्रोपटक धानको गाठा पट्याउने बेला प्रयोग गर्नुपर्छ।