दिनहुँ हुलका हुल बँदेल पसेर धानबाली नष्ट गरेपछि किसानहरुले धान नपाक्दै काटेका छन्।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ योगिकुटीका किसानहरुले बँदेलले धान नष्ट गरिदिए पछि नपाकेको धान काटेका हुन्। शंकरनगर सामुदायिक वनसँगै जोडिएको योगिकुटी तपाहमा अहिले बँदेलको विगविगी बढेको छ।
रात पर्नासाथ जंगलबाट बदेलका हुल आएर आफ्नो धान खेती खाईदिएको तिलोत्तमा नगरपालिका वडा नं २ का वडा सदस्य समेत रहेका किसान श्यामलाल क्षेत्रीले बताए।
पहिले छाडा गाईगोरुको हुल आएर खेतीबाली नष्ट गरिदिनेमा अहिले बँदेल समेत थपिएपछि खेती जोगाउन रातभर जाग्राम बस्नुपरेको उनले बताए।
रातको समयमा स्थानीयको घरमा बालिएका बत्ति निभाएपछि बँदेलको हुल आएर खेतभित्र पस्ने क्षेत्रीले बताए। गाईले खांदा ठाडो बोटको धानबाली खानेमा बँदेलले ढालेर समेत क्षती गरेको क्षेत्रीले गुनासो गरे।
शंकरनगर सामुदायिक वनमा सयौं छाडा गाईगोरु संगै बँदेल, घोरल लगायतका जनावरहरु प्रशस्त रहेकोले आसपासको खेतीबाली जोगाउन किसानहरुलाई मुश्किल परेको छ। खेतीको लागि उर्बर भुमि रहेर पनि गाईवस्तु र जंगली जनावरबाट जोगाउन नसकेपछि किसानहरुले खेती लगाउन समेत छोडेका छन्।
किसानहरुले लगाएको खेती नोक्सान भएपछि तिलोत्तमा नगरपालिकाकाले तारजालीको लागि बजेट विनियोजना गरेको छ। तर पांचवटा कांडेतार लगाउंदा समेत बँदेललाई रोक्न नसकिएको क्षेत्रीले बताए। साना पाठापाठी सहित हुल बाँधेर आउने बँदेलको शरिर सानो भएकोले नजिक नजिक तारजाली लगाउंदा समेत सजिलै पस्ने गरेको उनले बताए। बँदेल नियन्त्रणको लागि कांडे तार नभई जाली वा अरु कुनै विकल्प खोज्नुपर्ने किसानहरुको भनाई छ।
कतिपय किसानहरुले काँडेतार सँगै टिनका पाता लगाएर खेतीबाली संरक्षण गरेका छन्। तर अधिकांश किसानहरुले खेतको विचमा घर घडेरी विक्री गरि जग्गा टुक्राएकोले टिन लगाएर संरक्षण गर्न पनि धेरै कठिन हुने बताउंछन्। तिलोत्तमा नगरपालिकाको वडा नं. १, २ र ७ सामुदायिक वनसंगै जोडिएकोले त्यहांको खेतीबाली छाडा गाईवस्तु संगै बँदेल, घोरल, बांदर लगायतले नोक्सान गर्दै आएका छन्।