सुर्खेतको लेकवेशी नगरपालिका–६ स्थित बाघखोरका किसानहरुले उत्पादन गरेको १० मेट्रिक टन गहुँको बिउ विक्री नभएर थन्किएको छ।
स्थानीय समृद्धि कृषि सहकारी संस्थाका ७ सयभन्दा बढी शेयर सदस्य किसानहरुले उत्पादन गरेको ६५ मेट्रिक टन गहुँको बीउमध्ये १० मेट्रिक टन बिउ सहकारीको गोदाममा थन्किएको हो।
बिगतमा कर्णालीका विभिन्न जिल्लाहरुसंगै पूर्वको तनहुँसम्म पुग्ने गरेको बिउ अहिले विक्री हुन नसकेको हो। अघिल्ला वर्षहरुमा जिल्ला कृषि विकास कार्यालय तथा क्षेत्रीय कृषि विकास कार्यालयले ती किसानहरुले उत्पादन गरेको बिउको प्रचार गर्नुका साथै ग्राहक खोजिदिने भएकाले सबै विक्री हुने गरेको सहकारीका अध्यक्ष देवबहादुर रानाले बताए।
तर, नयाँ संरचनापछि त्यस्तो सहयोग नपाएकाले बिउ विक्री हुन नसकेको उनले बताए । बिउ विक्री नभएपछि किसानहरुलाई क्षतिपुर्ती दिने विषयमा चिन्ता बढेको उनले बताए । उनका अनुसार गत वर्ष स्थानीय किसानले २२ हेक्टर जमिनमा गहुँको वीउ उत्पादन गरेका थिए ।
सहकारीको आग्रहमा किसानले बिउ उत्पादन गरेकाले सहरकारीले थन्किएको बिउको समेत मुल्य किसानहरु उपलब्ध गराउनुपर्ने अध्यक्ष रानाले बताए । किसानले उत्पादन गरेका हरेक वस्तुमा राज्यले सहुलियत दिनुपर्नेमा उनले जोड दिए ।