रुपन्देहीको देवदह नगरपालिकाबाट प्रदेश नम्वर ५ सरकारले अघि सारेको कृषि स्मार्ट गाउँ कार्यक्रम सुरू भएको छ।
एक निर्वाचन क्षेत्रमा एउटा कृषि स्मार्ट गाउँ बनाउने घोषणा गरेको कृषि स्मार्ट गाउँ प्रदेश ५ सरकारले प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रमा लागू गर्दै जानेछ।
रुपन्देहीको देवदह नगरपालिका ९ घोडाहामा मंगलबार आयोजित कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले खेतमा फर्सीको बिरूवा रोपेर स्मार्ट कृषि गाउँको शुभारम्भ गरेका हुन्।
कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री पोखरेलले परम्परागत पद्धतिबाट माथि उठेर आधुनिक कृषि खेतीतर्फ लाग्न कृषकहरूलाई सुझाव दिए। उनले उत्पादन बढाउने सँगै विषादीरहित उत्पादनतर्फ पनि ध्यान दिन आग्रह गरे।
मुख्यमन्त्री पोखरेलले परम्परागत प्रणालीलाई आधुनिक बनाउन नसक्दा नयाँ पुस्तालाई कृषिमा जोड्न नसकिएको भन्दै कृषिलाई आधुनिक बनाएर नयाँ पुस्तालाई जोड्ने बताए।
उनले स्मार्ट कृषि कार्यक्रमले किसानको घरदैलोमा प्रविधि लिएर आएको र किसानले व्यवहारमा सिकेको अनुभवलाई पनि आत्मसात गरी कार्यक्रम अघि बढाइने बताए। आफ्नो जमिनमा धेरै उत्पादन हुने र बजारमा धेरै बिक्ने वस्तु छनोट गरी उत्पादनमा लाग्नुपर्ने उनको भनाइ छ।
कृषि पेशाबाट सुखी जीवन सम्भव छ भन्ने कुरामा विश्वास गर्न आग्रह गर्दै उनले आफ्नो भूमि बाँझो राखेर विदेशी भूमिलाई उर्वर बनाउन जाने युवाहरूलाई स्मार्ट कृषि गाउँ कार्यक्रमले फिर्ता ल्याउनुपर्ने बताए।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कृषिको व्यवसायीकरणमा स्मार्ट कृषि गाउँले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।
कार्यक्रममा प्रदेशसभा सदस्य जाल्पा भुसाल, कृष्ण न्यौपाने, देवदह नगरपालिकाका प्रमुख हिरा केसी, कृषि तथा वन विश्वविद्यालयका कृषि तथा पशु अध्ययन संस्थानका डिन जयप्रकाश दत्त, प्राध्यापक डा. आइपी कडेरिया, नेपाली काग्रेसका नेता बासुदेव रिमाल, नेकपाका नेता ऋषिराम सापकोटा, कालिका स्वाबलम्वन समुहकी अध्यक्ष लक्ष्मी विश्वकर्मा, देवदह वडा नम्बर ९ का अध्यक्ष केशवराज भट्टराई लगायतले स्मार्ट कृषि कार्यक्रमलाई नमूना बनाएर प्रविधिलाई हस्तान्तरण गर्दै लैजानुपर्ने बताएका थिए।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यमनारायण देवकोटाले स्मार्ट कृषि कार्यक्रमबारे जानकारी दिए।
परम्परागत खेती प्रणालीलाई बदलेर आधुनिक र व्यवसायिकरण गर्दै समृद्धिको प्रस्थानविन्दु मानेको प्रदेश सरकारले ५२ वटा स्मार्ट गाउँ छनोट गरेको छ। प्रत्येक स्मार्ट कृषि गाउँलाई ५० लाख रुपैयाँ विनियोजन गरी मन्त्रालयले नमूना गाउँ निर्माण गर्ने योजना अगाडि बढाएको छ।
किसानहरूले गर्ने खेती प्रणालीदेखि लिएर, किसानको उत्पादन, बजारीकरणसम्मको कार्य पूरा गर्ने गरी स्मार्ट कृषि गाउँलाई अगाडि बढाइएको हो।
पहिलो कृषि स्मार्ट गाउँ शुभारम्भ भएको देवदह वडा नं. ९ का ३ सय घरधुरीमध्ये चार वटा समूहमा आवद्ध १ सय ५० घरधुरी कृषि कार्यमा संलग्न रहेका छन्।
कालिका बहुउद्देश्य कृषक समूहमा ६५, नमुना बहुउद्देश्य कृषक समुहमा ४५, कोटियामाई कृषक समूहमा २२ र आधिखोला कृषक समूहमा १८ कृषक परिवार आवद्ध छन्।