दैनिक उपभोग्य कृषिजन्य वस्तुमा विषादीको प्रयोग बढेकामा सांसदले चिन्ता व्यक्त गरेका छन्।
राष्ट्रियसभाको आजको वैठकमा समसामयिक राष्ट्रिय सरोकारका विषयमा धारणा राख्दै सांसदले मानवीय संवेदनाको विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकको विशेष समयमा सांसद धनकुमारी खतिवडाले कृषिजन्य उपभोग्य वस्तुमा विभिन्न विषादीको प्रयोग बढेकाले खाद्य प्रविधि तथा गुणस्तर विभागले प्रभावकारी अनुगमन गर्र्न नसकेको गुनासो गरे।
काठमाडौँसहित विभिन्न जिल्लामा बर्डफ्लुको सङ्क्रमण बढेको र सङ्क्रमित कुखुरालाई किसानले अवैधरुपमा सुई दिइरहेको, दूधमा अखाद्य पदार्थको मिसावट भइरहेको तथा भारतमा प्रतिबन्धित माछा नेपालमा बिक्री भइरहेकाले मानव स्वास्थ्य सम्बन्धि संवेदनशील विषयमा सरकार गम्भिर हुनुपर्नेमा उनले जोड दिए।
सांसद खतिवडाले ललितपुरका खोकना र बुङमती क्षेत्रका भूकम्पपीडितले पहिलो किस्ता मात्र पाएको र थप किस्ता पाउन नसकेको अवस्था रहेको बताए।
सांसद भैरवसुन्दर श्रेष्ठले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई सरकारसँग सौहार्दपूर्ण वार्तामा आई राजनीतिको मूलधारमा आउन आग्रह गरे। उनले अहिलेको सन्दर्भमा हिंसा, आतङ्क र विद्रोहले शान्ति र समृद्धि प्राप्त हुन नसक्ने भएकाले संविधानअनुरुप जनमतका लागि जनतामाझ जान अनुरोध गरे।
सांसद प्रकाश पन्थले राष्ट्रियसभाको पहिचान र गरिमालाई कायम राख्न विशेष भूमिका निर्वाह गरिनुपर्ने धारणा राखे। “दलीय दृष्टिकोणभन्दा पनि नागरिकका अधिकार र सवालमा फरक ढङ्गले प्रस्तुत हुनुपर्छ”, उनले भने।
सांसद प्रमिलाकुमारीले सिके रावतको समूह मधेशको ठूलो समस्या बनिरहेको अवस्थामा सरकारले मूलधारमा ल्याएकोमा धन्यवाद दिए।
उनले मानव विकास सूचकाङ्कमा पछि परेकालाई समेट्न पटक,पटक आवाज उठाउँदा पनि सम्बोधन हुन नसकेको प्रति गुनासो व्यक्त गरे। “यस विषयमा सदन र सडकबाट आवाज उठाउँछौँ”, उनले भने।
यसअघि बैठकको शून्य समयमा सांसद खिमकुमार विश्वकर्माले ‘गरीब नागरिक परिचयपत्र’ले जनतालाई विभाजित गरेको र वास्तविक गरीबले परिचयपत्र नपाएकामा सरकारको ध्यानाकर्षण गराएका थिए।
विधेयक स्वीकृत
राष्ट्रियसभाले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तवलाई स्वीकृत गरेको छ।
राष्ट्रियसभाको दोस्रो बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको उक्त विधेयकलाई सर्वसम्मत्तिले स्वीकृत गरिएको छ । राष्ट्रियसभाको अर्को बैठक यही चैत ८ गते दिउँसो २ः०० बजे बस्नेछ ।