भनिन्छ बुवाले जस्तो पेसा अंगाल्छन् तस्तै पेसा अंगाल्छन् छोराहरूले पनि।
यो कति परिवारमा लागू हुने पनि गरेको छ।
आजभन्दा ३६ वर्षभन्दा अघि बुवाले अंगालेको पेसालाई उनले पनि निरन्तरता दिएका छन्।
उनी हुन्, धादिङका ३३ वर्षीय महेशदत्त अधिकारी।
उनको बुबाले धादिङको गल्छी गाउँपालिका वडा नं. ४ भल्टारमा ३६ वर्षअघि ४० रोपनीमा रेशम खेती गरे। अंशबण्डा भएपछि हाल धादिङमा दस रोपनी जग्गामा आफ्नो व्यक्तिगत खेती रहेको अधिकारीले बताए ।
रेशम खेतीको सम्भावनाको खोजी गर्दै हिँड्ने क्रममा दाङमा उनले रेशम किराको लागि आवश्यक पर्ने किमु खेतीको लागि उपयुक्त देखेपछि ३ वर्षअघि दस बिघा जमिन भाडामा खेती गर्दै आएका छन्।
धादिङमा आज पनि उनको घरमा रेशम खेती र उद्योग छ।
धादिङमा कोकुनबाट धागो निकाल्ने, प्रशोधन गर्ने र कपडा बनाउने जस्ता कामहरू गर्दै आइरहको महेश बताउँछन्। धादिङ दाङमामात्र होइन काठमाडौंमा महेशको तस्तै उद्योग छ। दाङमा पनि धागो प्रशोधन हुँदै आएको छ। निकट भविष्यमा दाङबाटै कपडा समेत उत्पादन गर्ने तयारी गरिएको छ। ‘भदौपछि दाङमै कपडा उत्पादन हुनेछ,’ महेशले भने।
हालसम्म दाङमा उत्पादित धागो लगेर धादिङमा कपडा उत्पादन गर्दै आएको भए पनि अब साधारण तानबाटै दाङमै कपडा उत्पादन गर्ने तयारी भइरहेको छ। मेसिनबाट निर्मित कपडाभन्दा तानमा निर्माण गरिएको कपडा झनै राम्रो हुने उनको दाबी छ।
‘हातले बुनेको र तानमा बुनेको कपडा एकदमै राम्रो कपडा मानिन्छ। मेसिनको भन्दा त्यसको धेरै माग छ,’ महेशले भने।
दाङमा उत्पादित तथा प्रशोधित धागोबाट निर्मित तीन थान साडी यो वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीका लागि बेचेको महेशले जानकारी दिए।
राष्ट्रपतिज्यूको लागि भनेर राष्ट्रपति कार्यालयबाट तीन वटा साडीको अर्डर आयो र मैले साडी बनाएर केही समय पहिला दिएको थिएँ,’ महेशले भने। एउटा साडीको मुल्य ११ हजारका दरले विक्री गरेको उनले बताए।
बजारमा किन्न पाइने रेशम भनिने कपडा र आफूले उत्पादन गरेको रेशम कपडाको बीचमा धेरै नै अन्तर रहेको महेशले दाबी गरे।
‘हामीले उत्पादन गरेको ओर्जिनल हुन्छ, बजारका त्यस्तो हुँदैन,’ महेशले भने। रेशमको कपडा गर्मीमा शितल र जाडोमा न्यायो हुने हुँदा स्वास्थ्यको दृष्टिकोणले समेत उत्तम रहेको महेश दाबी गर्छन्।
रेशम खेती अन्य खेतीको तुलनमा महँगो पर्ने महेश बताउँछन्। रेशम किराले उत्पादन गर्ने कोकुन एक सय केजीको ५० हजार रुपैयाँ पर्ने उनी बताउँछन्।
रेशम कपडामा लेडिज आइटम अन्तर्गत साडी, सल, कुर्था र जेन्समा आसकोट, दौरा सुरूवाल,सर्ट, पाइन्ट बनाउँदै आइएको उनले बताए।
‘खेतीका लागि दाङ नै किन छान्नु भो?’
दाङमा प्रशस्त जग्गा छ र यहाँ बेरोजगारी पनि उत्तिकै छ भन्ने सुनेर म यहाँ अनुगमनको लागि आएको थिएँ,’ उनी भन्छन् ‘मैले सोचे जस्तै रेशम खेतीको लागि उपयुक्त वातावरण पाएँ र यही बसेर खेती गर्न सुरु गरें।
सिजन अनुसार परम्परागत धान, मकै, तोरी, मसुरो लगायतका अन्न तथा दलहन बाली उत्पादन हुँदै आएको दस विघा जग्गामा अधिकारीले किमुको बिरुवा रोपेको देखेर सुरूमा स्थानीय किसान छक्क परेका थिए।
जब अधिकारीले एक डेढ वर्षभित्रै किमको बोटबाट पात टिप्दै रेशम किराका लार्भाहरूलाई खुवाउँदै हुर्काउँदै कोकुन उत्पादन गरे र त्यसबाट त्यही धागो उत्पादन थाले त्यसपछि भने स्थानीय किसान आकर्षित भए।
फाइदा कत्तिको लिनु भयो ? भन्ने प्रश्नमा अधिकारीले सोचे अनुरुप गर्न नसके पनि राम्रै कमाइ भइरहेको उनले बताए।
धादिङ, अर्घाखाँची र दाङमा रेशम खेतीको गर्दै आएका महेशले समय व्यवस्थापन गर्न नसकेको भए पनि वार्षिक १२ लाख जति आम्दानी गर्दै आएको बताए।
उत्पादनको तरिका
सुरूको वर्षमा रेशम किराले खाने किमुको बोट असारमा लगाउनु उत्तम मानिन्छ । किमुको पात राम्रोसँग पलाएपछि फागुन चैतमा किरा पालन सुरू हुन्छ। त्यो किराबाट कोकुन उत्पादन गरिन्छ । एक वर्षमा ४ देखि ५ पटकसम्म त्यसरी कोकुन उत्पादन गर्न सकिन्छ । रेशम खेतीको लागि आवश्यक किमु खेती समुन्द्री सतहदेखि २ सय मिटरदेखि २५ सय मिटरको उचाइसम्म गर्नु उपयुक्त मानिन्छ।
पहाड,तराई र भित्रि मधेशमा पनि यसको खेती गर्न सकिने महेशले बताए । कोकुन उत्पादन सिजन र तापक्रम अनुसार हुने गर्छ। २० देखि ३५ डिग्री सेलसियससम्मको तापक्रम हुने स्थानमा रेशम खेती राम्रो मानिन्छ । दाङमा हरेक महिना रेशम किरा उत्पादनको दृष्टिले उपयुक्त स्थान भएको उनको जिकिर छ। तर पुस माघ र वैशाख जेठ जस्ता महिनाको लागि भने वाताअनुकूलित (एसी जडित) भवन भइदिए दाङमा बाह्रै महिना रेशम किरा उत्पादन गर्न सहज हुने उनले बताए । एउटा किमुको बोटबाट वर्षमा ४ देखि ५ पटकसम्म किराको लागि खाना (घाँस) लिन सकिने उनले बताए।
‘जमिन बाँझो छोडेर रोजगार खोज्दै बाहिर जानु गलत’
रेशम खेतीले आफूलाई मात्र नभएर समाजलाई पनि योगदान दिएको उनले बताए।
‘म यहाँ आएर व्यक्तिगत रूपमा मात्रै फाइदा लिएको छैन। मैले यहाँको समाजलाई रोजगारी समेत दिँदै आएको छु,’ अधिकारीले भने।
किमुको विरुवा रोप्ने समयमा, किरा पाल्ने समयमा र धागो काट्ने समयमा स्थानीय १५/१६ जनालाई उनले काम दिन्छन्।
‘मैले यो वर्ष कोकुन हुँदासम्म ६ महिना स्थानीयलाई रोजगारी दिए र कोकुन उत्पादन बढेमा म बाह्रै महिना रोजगारी दिन सक्ने छु,’अधिकारीले भने । स्थानीय किसानले जति धेरै रेशम खेती गर्छन् उति धेरै रोजगारीका अवसरहरू खुल्दै जाने उनको भनाइ छ।
दाङमा अझै पनि प्रशस्तै जमिन बाँझो छ। गर्ने हो भने यहीँ पनि रोजगारीको प्रशस्तै सम्भावना छ। तर ज्ञानको कमीले जिल्लाका युवायुवती भने बुटवल,काठमाडौं र विदेशमा रोजगारीका लागि जान्छन् जुन गलत हो महेश भन्छन् । ‘
रेशम खेतीको लागि राज्यले अनुदान दिँदै आएको छ। अरु खेतीभन्दा राज्यले रेशम खेती गर्ने किसानलाई प्राथमिकता पनि दिँदै आएको छ। तर राज्यको नीति अनुरूप नयाँ किसानलाई किमु खरिद गर्दा बिरुवामा ५० प्रतिशत छुट दिने भन्ने रहेता पनि त्यो लागू हुन नसकेको उनले बताए।
प्रदेश सरकारले गढवाको हडैया गाउँमा किरा घरको लागि साढे ११ लाख अनुदान दिएपछि दुइटा घर निर्माणको काम लगभग सकिएको उनी बताउँछन्।
प्रविधि र प्राविधिक कारणले नेपालको कृषि क्षेत्र पछाडि पर्दै आएको हुँदा ती कुरा भित्र्याउन राज्यले पहल गर्नुपर्ने उनको भनाइ छ।
उनले ५ नं. प्रदेश सरकारले रेशम खेती हेर्ने विज्ञ र प्राविधिक नछुट्याएको भन्दै असन्तुष्टि व्यक्त गरे।
त्यस्तै, अनुदानमा रेलिङ, डायर, कपडा बुन्न तानलगायतका वस्तु राज्यले उपलब्ध गराइदिए रेशम खेतीको आकर्षण थप बढ्ने अधिकारीको भनाइ छ। ‘प्रविधि र प्राविधिकको अभावले मैले ५ नं. प्रदेशमा उत्पादन गर्दै आएको कोकुन, धागो धादिङ र काठमाडौंमा लगेर कपडा उत्पादन गर्नुपर्ने बाध्यता छ,’ अधिकारीले भने।
तीन वर्ष अगाडि दाङमा रेशम खेती भित्र्याउँदा पहिलो पटक अधिकारीले गृह जिल्ला धादिङ र चितवनको भण्डाराबाट किमुका बोट किनेर ल्याएको भए पनि अब भने दाङमै नर्सरी तयार गरेको उनले बताए।
हाल दाङमा १२ लाख जति बेर्ना उत्पादन भइरहेको उनले बताए। रशेम खेतीतर्फ किसानको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै किमुका बेर्नाहरू उत्पादन गरिएको अधिकारीले बताए।
रेशम किराले किमुको पात खाएर गर्ने बिष्टाबाट बाख्रापालन र भैंसीपालन गर्न सकिने सम्भावना पनि अधिकारीले औंल्याए।
८० प्रतिशत धागो जापान र अमेरिका निर्यात
अधिकारीले आफूले रेशम खेतीबाट उत्पादन हुने गरेको ८० प्रतिशत धागो जापान र अमेरिका निर्यात हुने गरेको जानकारी दिए।
नेपाली मूलका व्यापारीले अधिकारीबाट रेशम धागो खरिद गरेर लैजाने गरेका छन्।
‘मैले काठमाडौंसम्म पुर्याउने गर्छु। उनीहरू आफैं आएर लैजान्छन्,’ अधिकारीले भने।
त्यसमध्ये बचेको २० प्रतिशतबाट आफूले कपडा निर्माण गरेर बेच्दै आएको अधिकारीले जानकारी दिए।
रेशम खेतीमा किसान आकर्षित
हाल गढवा गाउँपालिका वडा नं. ४ हडैयामा मात्रै उनलाई पछ्याउँदै स्थानीय किसानले ४५ बिघा जमिनमा रेशम खेतीको लागि किमु खेती गर्दै आएका छन्।
हडैया गाउँमा मात्रै हाल यो खेतीको लागि ६ वटा कृषि फर्म खुलिसकेका छन्। यहाँका किसान रेशम खेतीतर्फ आकर्षित हुँदै गएका छन्। खेती गर्ने किसानको संख्या र जग्गाको क्षेत्रफल दुवै थपिँदै जाने संभावना देखिएको छ।
हाल समूहबाहेक व्यक्तिगत दुई विघा जग्गामा रेशम खेतीका लागि आवश्यक पर्ने किमु खेती गर्दै आएको २९ वर्षीय रामलक्ष्मण साहले बताए।
‘धादिङबाट आएका महेशदत्तले रेशम खेती गरेर फाइदा लिएको देखेपछि गाउँले किसान धेरै आकर्षित भएका छन्,’ रामलक्ष्मण साहले भने ‘यो वर्ष मैले पनि काठमाडौं गएर ३५ दिने तालिम लिएर आएको हुँ।’
यो खेती गर्नेमध्ये ३३ वर्षीय स्थानीय अञ्जित चौधरी पनि हुन्। चौधरीले पनि दश विघा जमिनमा किमु खेती गरेर गत सालदेखि रेशम खेती सुरू गरेको जानकारी दिए।
चौधरीले अरु परम्परागत अन्न खेतीभन्दा रेशम खेती गर्दा बढी फाइदा लिन सकिने बताए।
गढवा गाउँपालिकाले पनि किसानको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै गढवादेखि कालाकाँटेसम्मको क्षेत्रलाई रेशम मार्ग बनाउने योजना निर्माण गरेको जानकारी दिएको छ।
कृषि क्षेत्रमा युवा वर्गलाई आकर्षित गर्न गाउँपालिका कार्यालयले यस्तो योजना तय गरेको छ।
सबै तस्बिरहरू : नारायण खड्का/सेतोपाटी