रुपन्देहीका विभिन्न स्थानीय तहले १६ औं राष्ट्रिय धान दिवस मनाएका छन्।
धान उत्पादनको हिसाबले देशकै दोस्रो जिल्लाको रूपमा रहेको रुपन्देहीमा विगत एक दशकदेखि बाजागाजा र नाचगानसहित रोपाइँ गरेर धान दिवस मनाइँदै आएको छ।
‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण: चामल आयातमा न्यूनीकरण’ भन्ने नाराका साथ यसवर्ष पनि बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सैनामैना, देवदह, सिद्धार्थनगर नगरपालिकासहित गाउँपालिका स्तरमा पनि धान दिवस मनाइएको छ।
कृषि सभ्यतामा असार महिनालाई मानो रोपेर मुरी उब्जाउने अवसरको रूपमा लिने गरिन्छ।
बुटवलको वडा नं १२ तामनगरमा धान रोपाइँ गरिएको थियो भने तिलोत्तमा नगरपालिकाले वडा नं. १५ को सखुवानी डाँडास्थित सुनकुमारी थापाको खेतमा रोपाइँ महोत्सव मनाएको हो।
वडा नं. १५ को संयोजनमा भएको कार्यक्रममा स्थानीय अब्बल किसानलाई प्रोत्साहन समेत गरिएको छ।
रोपाइँ महोत्सवमा नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, वडाध्यक्ष खेमराज गुरुङ लगायतले रोपाइँ गरेका थिए।
सहभागीहरूले आइतबार पञ्चेबाजाको तालमा झण्डै दुई बिघा खेत रोपेका छन्।
रोपाइँको शुभारम्भ गर्दै नगर प्रमुख घिमिरेले श्रमको सम्मानका साथै कृषि कार्यलाई प्रोत्साहन गर्न दिवस सान्दर्भिक रहेको बताए।
तिलोत्तमा नगरपालिकामा झण्डै ८० प्रतिशत भू-भागमा धान खेती हुँदै आएको छ।
यता असार १५ पुगिसक्दा रुपन्देहीमा ९० प्रतिशत खेत बाँझै रहेको छ। १० प्रतिशत खेतमा मात्र रोपाई गरिएको छ । गतवर्ष असार १५ सम्म २० प्रतिशत रोपाइँ गरिएको थियो।
रसायनिक मल र बिउको अभावका कारण समयमा बिउ राख्न नपाएको किसानहरूले यसवर्ष ढिलो गरी सुरू भएको मनसुनका कारण रोपाइँ पनि गर्न पाएका छैनन्।
जिल्लाका बुटवल, देवदह, केरवानी, सिक्टहन, मक्रहर, शंकरनगर, फर्साटिकर, रुद्रपुरसँगै मर्चवार क्षेत्र धान उत्पादनको उर्वर भूमि मानिन्छ।
समयमै बिउ, मल र सिँचाइ उपलब्ध हुने हो भने यतिबेला धान रोपेर हरियै हुने खेतहरू अहिलेसम्म बाँझै छन्।
जेनतेन गरिराखेको धानको ब्याड पनि पर्याप्त पानी नहुँदा सुक्न थालेको छ।
तिनाउ, दानव, कञ्चन, रोहिणी, डण्डा लगायतका खोला तथा नदीबाट जिल्लाको उत्तरी र पूर्वी क्षेत्रका खेतमा केही सिँचाइको सुविधा पुगे पनि धानको भण्डार मानिने दक्षिणी मर्चवार क्षेत्रमा सिँचाइको सुविधा पुग्न सकेको छैन।
सिँचाइको लागि बनाइएको नहर तथा कुलोमा पनि खोलाको सतह गहिरिँदै जाँदा पानी पुग्न सकेको छैन। जसले गर्दा किसानलाई आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ।
७० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने रुपन्देहीमा साना ठूला गरी २० वटा सिँचाइ आयोजना सञ्चालनमा छन्।
तर त्यसबाट सबै किसानको खेतमा सिँचाइको सुविधा पुग्न सकेको छैन।
खेती हुने जमिनमध्ये १० हजार ८ सय हेक्टरमा मात्रै सिँचाइ सुविधा पुगेको छ। बाँकी ६९ हजार २ सय हेक्टर जमिनमा आकाशे पानीको भरमा खेती हुने गरेको छ।
रुपन्देहीमा सावा मन्सुली, सावित्री, मकवानपुर १, सुनौली सुगन्ध, काला नमक, गोरखनाथ ५०९ लगायतका धानको खेती हुँदै आएको छ।
रुपन्देहीसँगै प्रदेश नं. ५ का कपिलवस्तु, बाँके, दाङ, बर्दिया, नवलपरासीलगायतका जिल्ला धान उत्पादनको हिसाबले राम्रा जिल्लामा गनिन्छन्।
देशको कुल धान उत्पादनको २२ प्रतिशत पाँच नम्बर प्रदेशले ओगटेको छ।
नेपालमा १५ लाख ५२ हजार ४ सय ६९ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गर्दछ। जसमध्ये प्रदेश नं. ५ मा मात्रै ३३ हजार ४ सय २६ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ। क्षेत्रफलको हिसाबले समग्र प्रदेश नम्बर ५ मा २१ प्रतिशत हुन आउँछ। यो प्रदेशमा १२ लाख ७४ हजार २ सय ६८ मेट्रिकटन धान उत्पादन हुने मन्त्रालयले जनाएको छ।
नेपालमा कुल ५२ लाख ३० हजार ३ सय २७ मेट्रिकटन धान उत्पादन हुने तथ्यांक छ। प्रदेश नं. ५ मा १९ लाख ६९ हजार ७ सय ७६ हेक्टर क्षेत्रफल रहेकोमा खेतीयोग्य जमिन ६ लाख ९७ हजार ३ सय ३३ रहेको मन्त्रालयको दाबी छ। जसमा ५ लाख ३९ हजार २ सय ६३ हेक्टरमा खेती गरिएको छ।