आइतबारबाट लागू हुने गरि नेपाल अण्डा उत्पादन संघले अण्डाको मूल्य बढाएको छ।
संघले अण्डा उत्पादनक किसानले बेच्दै आएको प्रतिक्यारेट २२० रुपैयाँबाट बढाएर २६० रुपैयाँ बनाएको हो। अब उपभोक्तालाई अण्डाको मूल्य प्रति क्यारेट ३६० अर्थात् १२ रुपैयाँ प्रतिगोटा पर्ने भएको छ।
बजारमा अण्डाको माग बढेकाले बजार संन्तुलनको लागि मूल्य बढाउनु परेको अण्डा उत्पादक संघका अध्यक्ष त्रिलोचन कडेलले बताए । ‘केही समय अघि बजामार अण्डाको माग ह्वात्तै घटेको थियो, त्यतिबेला मूल्य पनि घट्यो, ’ कँडेलले भने, ‘अहिले फेरि माग बढेकाले मूल्य बढेको हो।’
कँडेलका अनुसार अहिले नेपालमा दैनिक ४० लाख अण्डा उत्पादन भइरहेको छ । ‘हाम्रोमा अण्डा उत्पादन भएर भण्डारण हँुदैन । उत्पादन सबै खपतनै मानिने हुनाले हाम्रो बजार माग पनि यही हो,’ कँडेलले भने, ‘यो विस्तारै बढेकाले हामीले मूल्य बढाएका हौँ।’
अण्डाको मूल्य बढेपनि अझै अण्डा उत्पादक किसानले भने लागत मूल्य नपाएको उनले बताए । ‘खास कुखुरा पाल्ने किसानको खोरमा प्रतिअण्डा १० रुपैयाँ लागत लाग्छ,’ उनले भने , ‘तर हाम्रो किसानले ८ रुपैयाँ पाएका छन्।’ उनका अनुसार अहिले पनि किसानहरु २ रुपैयाँ प्रति अण्डा घाटामा छन्।
तर, बजारको मागहेर्दा ८ रुपैयाँ भन्दा बढी मूल्य राख्न नसकिने कँडेलले प्रस्ट पारे । उनले भने, ‘हामीले १० रुपैयाँमा बेच्दा किसानले लागत त पाउँछन् तर बजारमा माग घट्छ यसले गर्दा अण्डा संचित हुन्छ । त्यसैले स्टकमा नराख्नकै लागि भएपनि कम मूल्यमा दिनु परेको छ ।’
कँडेलले मूल्य बढेपछि १२ रुपैयाँ भएको प्रतिगोटा अण्डाको मूल्य १५ रुपैयाँ भएमात्रै किसानले लागत पाउने दाबी गरे ।