रोप्नको लागि धानको व्याड तयार छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ का किसान मानबहादुर केसी भने एक सातादेखि रासायनिक मलका लागि तुलसीपुर बजार धाइरहेका छन्।
वनहरीका टेकराज रिजाल मलको खोजीमा त्यसैगरी भौतारिदै आएका छन्। उनले पनि तुलसीपुरस्थित मल गोदाममा धाउन थालेको दश दिन बढी भइसकेको छ।
तुलसीपुर १० बन्गै निवासी मेघबहादुर चौधरी पनि मल नपाएर आजिद छन्। ‘तुलसीपुरको गोदाममा डिएपी मल छैन। अघिल्लो वर्ष जस्तो यो वर्ष आफै रकम संकलन गरेर सहकारी मार्फत मल ल्याउन पनि संभव भएन। के गरी खेती गर्ने हो?’ चौधरीले निराशा व्यक्त गरे।
कर्मचारीले गोदाममा कहिले मल आउँछ भन्ने जवाफ पनि नदिएको चौधरीले बताए। ‘निर्वाचन ताका हामीले जिते मल, विउविजन गाउँ घरमै आउँछ भन्थे, अहिले मतलव छैन’ उनले भने। जिल्लामा विना अनुदानको मल पनि कतै किन्न नपाइएको किसानको गुनासो छ।
‘कृषिलाई आधुनिकरण र यान्त्रिकरण गरि निर्यातमुखी बनाउने सरकारी नारा आफैमा मजाकजस्तै बनेको छ’ तुलसीपुर राइखलियानका रामबहादुर बस्नेतले भने ‘न त मल पाइन्छ न त पर्याप्त पानी परेको छ, हाम्रो जस्तो सुख्खा ठाउँमा कसरी खेती गर्ने?’
बस्नेतले किसानको समस्या समाधान गर्ने सवालमा स्थानीय, प्रदेश र संघीय सरकार कसैले पनि चासो नदिएको गुनासो गरे। ‘किसानको मर्कामा एक शब्द नबोल्ने र समस्या समाधान गर्न कुनै पहल नगर्ने अनि नारामा मात्रै कृषिको आधुनिकीकरण गरेर हुन्छ?’ बस्नेतले भने।
अनुदानको मल विक्री गर्दै आएको कृषि सामग्री कम्पनीले पनि डिएपी मल केही महिनादेखि नआएको जनाएको छ। पहिलो चरणमा मल सहकारीलाई उपलव्ध गराए पनि पछिल्लो समयमा एक बोरा पनि डिएपी मल गोदाममा नभएको कम्पनीका प्रमुख तिर्थ न्यौपानेले बताए।
मल खरिदका लागि कुनै पनि प्रक्रिया नै अगाडि नबढाएको उनले जानकारी दिए। सरकारले अझैपनि मल आयातको लागि टेण्डर आह्वान नगरेकाले समस्या भएको उनको भनाइ छ।
जनप्रतिनिधिको कर्मकाण्डी धान दिवस
धान दिवसको उत्सव मनाउने सिलशिलामा तुलसीपुर उपमहानगरपालिकाले आइतबार वडा नम्वर १५ कन्ज्वारमा औपचारिक कार्यक्रम गर्यो। धान दिवस मनाउनैका लागि स्थानीय खोलाबाट मोटर लगाएर केही खेतमा सिंचाई गरियो। त्यसको वरिपरि भने सबैतिर किसानका बाँझो खेत मात्रै थिए।
तुलसीपुरका मेयर, उपमेयरको उपस्थितिमा कर्मकाण्डी रुपमा धान दिवस मनाइरहँदा स्थानीय किसान भने निराश छन्।
सिंचाईको प्रवन्ध नहुँदा र पर्याप्त वर्षा नहुँदा ब्याड खेतमै सुक्न थालेको स्थानीय किसान खिम चलाउने बताउँछिन्।
मेयर घनश्याम पाण्डेले यसअघि रोल्पाको माडी खोलाको पानी तुलसीपुर ल्याएर सिंचाईको प्रवन्ध गरिने आश्वान बाँडेका थिए। ‘रोल्पाबाट माडीको पानी ल्याएर यहाँ सिचाई गर्ने गर्ने योजना बनाएका छौँ,’ पाण्डेले भने, ‘त्यसकालागि बृहत दाङ आयोजनासँग सहकार्य गर्छौँ।’