एक मुरी धान फल्ने खेतको आम्दानीले वर्षभरि खान पुग्छ ।
बाँकी खेतको आम्दानी बचत हुन्छ । जलजला–७ धाइरिङका एकनारायण पौडेल व्यावसायिक तरकारीबाट मात्रै वार्षिक रु १२ लाख जति आम्दानी गर्दै आएका छन्।
करीब अढाइ दशकदेखि तरकारीमा लाग्नुभएका एकनारायणले तरकारीबाट जोडेको सम्पत्ति मात्रै दुई करोडभन्दा बढी पुगेको छ । उनकै सिको गर्दै धाइरिङमा अहिले करीब १५० परिवारले बाह्रै महीना व्यावसायिक तरकारीखेती गर्छन् । त्यहाँका बिरलै किसानले असारमा धान रोप्छन् । धानको तुलनामा दसौँ गुणासम्म बढी आम्दानी हुने भएपछि धेरैले धान रोप्न छोडेका छन् ।
साविक धाइरिङ गाविस–४ र ५ मा करीब २०० परिवारको बस्ती छ । उनीहरु सबै व्यावसायिक तरकारीखेतीमा मात्रै निर्भर छन् । युवा, केटाकेटी र पाको उमेरका सबैजसो बिहान सबेरैदेखि साँझ अबेरसम्म खेतमा व्यस्त हुने गरेका छन् ।
नजिकैको धाइरिङ सिँचाइ आयोजनाले बस्तीभन्दा तलको समथर फाँटमा बाह्रै महीना सिँचाइ पुगेको छ । आधुनिक प्रविधिको प्रयोग, उन्नत जातको बीउ, रोगकिराको सहज निदान, गाउँसम्म सडकको पहुँचलगायत कारणले पछिल्ला केही वर्षयता तरकारी उत्पादनमा समस्या छैन ।
उत्पादन भएको तरकारी लिन पोखराका व्यापारी घरै पुग्छन् । अहिले यहाँका सबैजसो किसानले वर्षे धान मात्रै नभएर हिउँदका सबै बाली छोडेर तरकारी मात्रै लगाउन थालेका छन् ।
कुनै बेला यहाँका युवा घरायसी खर्च जुटाउनकै लागि विदेश जान्थे तर, हिजोआज त्यो बाध्यता छैन । ‘पहिला अहिलेजस्तो सिँचाइ थिएन । तरकारी लगाएर बेच्दा इज्जत जान्थ्यो’, स्थानीय बुद्धिप्रसाद सुवेदीले भने, “विदेश गएर फर्किएको भनेपछि विवाह गर्न सजिलै केटी पाइन्थ्यो । अहिले संस्कार फेरिएको छ।’
तीन वर्ष विदेशमा बिताएका उनले अहिले जागरिलो युवा पाए तरकारी लगाउनकै लागि मासिक २० हजारसम्म पारिश्रमिक दिएर राख्ने बताए। बुद्धिप्रसादले अहिले नौ रोपनी खेतमा मौसमी तथा बेमौसमी तरकारी लगाएका छन् । वर्षमा तीन सिजनको तरकारी फल्छ । डेढ दशक अघिसम्म गाउँमा आम्दानीको कुनै माध्यम नदेखेर खाडी मुलुक पुगेका यहाँका दर्जन बढी युवाले गाउँ फर्किएर गरेको प्रगति लोभलाग्दो बन्न थालेको छ ।
तरकारीको आम्दानीले बेनी, कुश्मा, बाग्लुङ, पोखरालगायत बजारमा घरघडेरी जोड्नेको सङ्ख्या ५० भन्दा बढी पुगेको किसान हरि आचार्यले बताए। ‘यहाँका सबैजसोको बजारमा घर छ’, आचार्यले भने, ‘त्यो तरकारीकै आम्दानी हो । बेमौसमीमा राम्रो उत्पादन हुने भएकाले यहाँको तरकारीले बढी मूल्य पाउछ । थोरै खेतमा तरकारी लगाउनेले पनि राम्रो आम्दानी गर्छ ।’
तरकारीमा आत्मनिर्भर भएको जिल्लाकै पहिलो गाउँ हो, जलजला–७ धाइरिङ अहिले पनि तरकारीबाट अधिक आम्दानी गर्ने गाउँका रूपमा यसलाई चिनिएको छ । उक्त गाउँको व्यावसायिक तरकारीमा विगतदेखि सरकारी तथा गैरसरकारी निकायको सहयोग र सहकार्य हुँदै आइरहेको छ ।
कृषि ज्ञान केन्द्र र जलजला गाउँपालिकाको सहकार्यमा चालू वर्षदेखि तरकारीको पकेट क्षेत्र घोषणा भएको छ । कृषकको सक्रियताले यहाँबाट वर्षेनी करोडौँ रुपैयाँ मूल्य बराबरको तरकारी निर्यात हुने गरको कृष ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए।