प्रदेश १ सरकारले विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याएको छ। संघीय सरकारले प्रयोगशाला नभएको भन्दै भारतबाट आउने तरकारी तथा फलफूलको विषादी परीक्षण नै रोकेका बेला प्रदेश १ सरकारले प्रयोगशाला संचालनमा ल्याएको हो।
काठमाडौंबाट प्राविधिकसहितको टोली ल्याएर प्रदेश १ को भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अगुवाइमा विराटनगरको रानीमा फलफूल तथा तरकारीको विषादी प्रयोगशाला सञ्चालनमा ल्याइएको हो।
विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाबाट तरकारी तथा फलफूलमा रहेको विषादीको अवशेष तुरुन्तै परीक्षण गर्न गर्न सकिने मन्त्रालयले जनाएको छ।
भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर बिष्टले प्रयोगशाला स्थापना भएसँगै अब विराटनगरबाट नै तरकारी र फलफूलको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला मार्फत मापन हुने बताए।
प्रयोगशाला करिब २५ लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको हो । काठमाडौंबाट आएका विशेषज्ञ प्राविधिकले प्रदेशका कर्मचारीलाई विषादी मापनको बारेमा जानकारी तथा प्रशिक्षण दिएर सोमबारदेखि नै यो प्रयोगशाला संचालनमा आएको हो।
मन्त्रालयले कृषक तथा व्यपारीहरुलाई बिराटनगरबाटै फलफूल तथा तरकारीको विषादी परीक्षण गर्न भनेको छ।