पछिल्लो समय तरकारीको मूल्यमा ठुलो उतारचढाव आएको छ । गत असारमा विषदी परिक्षण पछि मात्रै भारतीय तरकारी ल्याउन पाउने मन्त्रिपरिषद्ले निर्णय गरेपछि बढेको तरकारीको मूल्य अझै घटेको छैन।
मन्त्रिपरिषद्ले तयारी नपुगेको भन्दै आफ्नै निर्णय फिर्ता लियो । यसले अवरोध भएको तरकारीको ढुवानी त सुरु भयो तर मूल्य घटेन।
अहिले व्यापारीहरुले पछिल्लो समय भइरहेको लगातारको वर्षाको कारण मूल्य बढेको बहाना बनाउन थालेका छन्।
असारको पहिलो दिनको तुलनामा साउन ८ (आज) सम्ममा विभिन्न ४२ प्रकारका तरकारीमा प्राय धेरैको मूल्य बढेको छ । प्रतिशतमा तुलना गर्दा यो बीचमा तरकारीको मूल्य औषतमा २१ प्रतिशतले बढेको छ । यो अवधिमा औषतमा १ सय रुपैयाँमा पाइने तरकारी बुधबारसम्ममा १ सय २१ रुपैयाँ पुगेको छ । यो कालिमाटी तरकारी बजारको तरकारीको खुद्रा मूल्यसूचीमा तुलना गरिएको हो ।
यो अवधिमा सबैभन्दा बढी चमसुर सागको मूल्य बढ्यो । प्रतिकेजी सागको मूल्य ७५ रुपैयाँ बाट ७० रुपैयाँले बढेको साउनमा १ सय ४५ पुगेको छ । यस्तै, पालंगोको मूल्य सोहि अवधिमा ४८ रुपैयाँबाट १ सय ५ रुपैयाँ प्रतिकेजी पुगेको छ ।
यस्तै, डल्ले च्याउँको मूल्य ४ सय २५ प्रतिकेजी बाट बढेर ४ सय ९० रुपैयाँ पुगेको छ । बजारमा भिण्डी ४०, तिते करेला ५०, भटमासकोशा , लाम्चो भन्टा तथा घिउसिमी ३५/३५ रुपैयाँ र गोलभेडा ३० रुपैयाँ प्रतिकेजीमा बढेको छ ।
सोही समयमा कन्य च्याउको मूल्य भने घटेको छ । यो अवधिमा कन्य च्याउ ५० रुपैयाँ घटेको हो । यस्तै, गुन्द्रुक, न्यूरो, तथा स्थानीय काउलीको मूल्य आरालो लागेका छन् ।
फलफूलको मूल्य पनि १७ प्रतिशतले बढ्यो
असार पहिलो हप्ता देखि साउनसम्म फलफूलको मूल्य १७ प्रतिशतले बढेको छ । औषतमा १ सय ६३ रुपैयाँ पर्ने फलफूलको मूल्य १ सय ९० रुपैयाँ प्रतिकेजी पुगेको छ ।
सबैभन्दा बढी स्याउको मूल्य बढेको छ । असारमा १ सय २५ रुपैयाँ रहेको स्याउ साउनमा २ सय ४० रुपैयाँ पुगेको छ । यस्तै मौसमको मूल्य १०० तथा मालदह आँप ५५ र दसहरी आपको मूल्य ६५ रुपैयाँ बढ्यो । तर, अनारको मुल्य भने घटेको छ । सोही अवधिमा अनारको मूल्य भने ५५ रुपैयाँले तथा फूजी स्याउँको मूल्य २५ रुपैयाँले घटेको छ ।
एक वर्षमा ३० प्रतिशत बढ्यो तरकारीको मूल्य
गत वर्षको तुलनामा अहिले तरकारीको मूल्य ३० प्रतिशतले बढेको छ । गत वर्ष औषतमा ९१ रुपैयाँ पर्ने तरकारी अहिले १ सय २१ रुपैयाँ प्रतिकेजी पुगेको छ ।
यो एक वर्षमा सबैभन्दा बढी भेण्टा र बोडी ५०/५० रुपैयाँ बढ्यो भने घिउसिमीको मूल्य ६५ रुपैयाँ बढेको छ । यस्तै, परवल,सृलरी तथा सैाफको सागको मूल्य अत्याधिक बढेको छ ।
गत वर्षको तुलनामा यो वर्ष केही तरकारीको मुल्य भने घटेको छ । जस्तै, कन्य च्याउ ३५ तथा हरियो प्याज ४० रुपैयाँ घटेको छ ।
यो एक वर्षमा फलफूलको मूल्य भने २६ प्रतिशतले बढेको छ । यो अवधिमा पनि सबैभन्दा बढी स्याउको मुल्य बढेको छ । यस्तै लोकल काक्रो मुल्य ४० रुपैयाँ बढेको छ ।
तर नारपस्तीको मूल्य भने घटेको छ । नास्पतीको मूल्य यसबिचमा ९५ रुपैयाँ बाट घटेर ५५ रुपैयाँ भएको छ ।