प्रदेश नं. ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दुग्ध उत्पादक किसानलाई अनुदानमा ट्याङ्कर प्रदान गरेको छ।
मन्त्रालयले गत आर्थिक वर्ष २०७५/७६ को पशुपंक्षी क्षेत्रको बजेटबाट प्रदेशका १२ जना किसान तथा समूहलाई ट्यांकर प्रदान गरेको हो।
शुक्रवार मन्त्रालयमा आयोजित कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानलाई दुग्ध ट्याङ्करको चावी, व्लुबुक तथा चेक प्रदान गरिन्।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सरकारको सानो सहयोगबाट किसानलाई आफ्नो पेशामा लागिरहन प्रेरणा मिल्ने बताइन्। उनले अनुदानमा प्राप्त ट्याङ्करको सही सदुपयोग गर्दै आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्न किसानलाई आग्रह गरिन्।
मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीले अनुदानको लागि प्रदेशभरबाट प्राप्त भएका निवेदनको आधारमा १२ वटा किसान समूहलाई छनोट गरिएको बताए ।
मन्त्रालयबाट अनुदानमा ट्याङ्कर प्राप्त गर्नेमा कपिलवस्तु वाणगंगा ४ गजेहडाको टुविन्स माईक्रो डेरी उद्योग, बुद्धभूमि नगरपालिका इमिलियास्थित महालक्ष्मी डेरी उद्योग, गुल्मीको रुरु ४ बलेटक्सारको ईश्वर दुग्ध स्टोर्स, रुपन्देहीको सैनामैना १० स्थित सालझण्डी दुग्ध उत्पादक सहकारी संस्था, बुटवल ९ को एसके डेरी रहेका छन्।
त्यसैगरी बर्दियाको बढैयाताल ७ को भगवती दुग्ध उत्पादक सहकारी संस्था, बाँसगढी नगरपालिकाको भट्टराई दुग्ध उद्योग, रोल्पा नगरपालिकाको कार्यालय, बर्दघाट नगरपालिका १० स्थित चन्द्रोदय बहुउद्देश्यीय सहकारी संस्था, लमही नगरपालिका ९ स्थित निलकमल सामाजिक उद्यमी महिला समुह तथा लुम्बिनी दुग्ध वितरण आयोजना बुटवल र दुग्ध वितरण आयोजना बांके रहेका छन्।
यी समूहलाई ३ हजार देखि ९ हजार लिटर क्षमताका ट्यांकर ५० प्रतिशत अनुदानमा प्रदान गरिएको मन्त्रालयका सचिव अधिकारीले जानकारी दिए। मन्त्रालयले ट्यांकर अनुदान वापत किसानका लागि कुल १ करोड ८० लाख ७१ हजार ६ सय ३२ रुपैयाँ खर्चिएको जनाएको छ।
देशको कुल गार्हस्थ्य उत्पादनमा ११ प्रतिशत र कुल कृषि उत्पादनमा २६ दशमलव शून्य ८ प्रतिशत योगदान रहेको प्रदेश नं. ५ दुग्ध उत्पादनको लागि सम्भावना बोकेको प्रदेश मानिन्छ।
प्रदेशबाट उत्पादित दूधले राष्ट्रिय उत्पादनमा करिब १७ प्रतिशत योगदान पुर्याएको छ । अहिले प्रदेश ५ मा वार्षिक ३ लाख १७ हजार ३ सय ३३ मेट्रिक टन दूध उत्पादन हुँदै आएको छ।
यो प्रदेश पशुपालनतर्फ देशमै भैंसीको संख्यामा पहिलो स्थान र गाईपालनको हिसाबले तेस्रो स्थानमा छ भने दूध उत्पादनमा तेस्रो स्थानमा छ।
यो प्रदेश हिमाल, पहाड र तराईको मिश्रित प्रदेश भएको कारण पनि यहाँ पालिने भैंसीहरु सोही अनुसार सिफारिस हुने गरेको छ। तराई क्षेत्रमा मुर्रा जातिका भैंसी पाल्ने गरिन्छ भने पहाडी क्षेत्रमा स्थानीय लिमे, पार्कोटे, गड्डी जातका भैंसी पाल्ने गरिएको छ। त्यस्तै स्थानीय काठे प्रजातिसँगै जर्सी, होलस्टन प्रजातिका गाई पाल्न सुरु गरिएपछि दुध उत्पादनमा वृद्धि भएको मन्त्रालयले जनाएको छ।
चरनक्षेत्र, डाले घाँस तथा भुईघाँसको पर्याप्तता तथा हावापानी र मौसम समेत उपयुक्त रहेकोले पशुपालन व्यवसायतर्फ पनि किसानको आकर्षण बढ्दै गएको हो।