आफूलाई खाने तरकारी उत्पादन गर्नलाई अहिले विभिन्न प्रविधिको विकास भएको छ। सहरमा कौसी खेती अहिले निकै लोकप्रिय बनिरहेको छ। आफै अर्गानिक तरकारी उत्पादन गरेर खाने सोच हुनेहरुका लागि अर्को बिकल्प पनि छ।
त्यो हो हाइड्रोपोनिक्स प्रविधि।
यो माटोको प्रयोग नगरी गरिने खेती प्रविधि हो। विरुवालाई चाहिने पदार्थ पानीमा मिसाएर गरिने यस्तो प्रविधि अहिले नेपालमै आइसकेको छ। यसरी उत्पादन गर्ने सोच बनाएकाहरुका लागि तयारी अवस्थाका किट बजारमा पाइन्छन्। खेती प्रविधिदेखि विउसम्म उपलब्ध गराउने कम्पनीहरु अहिले नेपालमा धेरै छन्।
त्यस्तै माछा पालन गरिरहेका किसानहरुका लागि यो थप उपार्जनको प्रविधि हुन सक्छ। माछा पोखरी बनाएकै ठाउँमा थप जमिन नभए पनि खेती गर्न सकिन्छ।
जमिन नहुने तर अर्गानिक तरकारी उत्पादन गर्न चाहनेका लागि माछामा आधारित तरकारी उत्पादन प्रविधि निकै लोकप्रिय हुने वरिष्ठ वागवानी विकास अधिकृत अरूण काफ्ले बताउँछन्।
उनका अनुसार यो प्रविधि व्यवसायिक र घरायसी दुवै प्रयोजनका लागि गर्न उपयुक्त छ। यसमा माछालाई खुवाइने दाना र चोकरबाट तरकारी उत्पादन गर्न सकिन्छ।
माछा राखिएको स्थानबाट पाइप जडान गरिएको हुन्छ। पाइपमा ठाउँठाउँमा प्वाल पारेर प्लाष्टिकको गिलास भित्र फम राखी त्यसमा बिरूवा रोपेर तरकारी उत्पादन गर्न सकिन्छ।
बोट बिरूको लागि चाहिने पिएच र खाद्य तत्वको मात्रासँगै पानीको फ्लो मिलाउन सकियो भने यो प्रविधि एकदमै राम्रो हुने उनी बताउँछन्।
उनका अनुसार जमिनमा लगाइने भन्दा यसमा दोब्बर बिरूवा लगाउन सकिन्छ। तर यो प्रविधिमा लगाउँदा साग अलि ढिलो उम्रिन्छ।
‘जमिनमा यसको खेती गरियो भने २५ दिनमा खान योग्य हुन्छ। खाद्य तत्व हालेर गरियो भने ३० देखि ३५ दिन लाग्छ भने यो प्रविधिमा ६० देखि ६५ दिन लाग्छ’, उनले भने।
यो प्रविधिमा तरकारी लगाउँदा घर फोहोर हुँदैन। यसमा जिरी र स्वीसचार्ड जातको सागको उत्पादन निकै राम्रो हुन्छ। २०/२५ दिनको विरूवा रोप्यो भने ६० दिनमा खान तयार हुन्छ।
यसबाट किसानले दुईवटा फाइदा लिन सक्छन्। एक माछाबाट र अर्को सागसब्जी बाट।
जिरी र स्वीसचार्ड साग सलादको रूपमा प्रयोग हुने भएकाले बजारमा यसको माग पनि राम्रो छ। बर्गर, पिजा र कहीँ–कहीँ मःम मा पनि यो सागको प्रयोग हुन्छ।
यो प्रविधि अपनाउनु भन्दा अघि किसानले लगानी, क्षमता, बजार र फाइदा हेर्नुपर्ने उनी बताउँछन्।
उनका अनुसार धरान र गोदावरीमा यो प्रविधिबाट जिरी र स्वीसचाडर्व सागको व्यवसायिक उत्पादन गरिएको छ।
यो प्रविधिमा लामो समय लाग्ने बाली नलगाउँदा राम्रो हुने उनको सुझाब छ।