आजभोलि सहरी क्षेत्रमा कौसी खेती लोकप्रिय हुँदै गएको छ। जमिन नहुनेले गमला, जार, माछाको क्यारेटमा माटो भरेर तरकारी फलाउने गरेका छन्। जमिन हुनेले पनि कौसी, वरण्डा तिर गमलामा फुल रोप्ने गर्दछन्।
तर यसरी कौसीमा माटो भरेर खेती गर्दा घरलाई लोड पर्छ भन्ने सोच्नु भएको छ भने अहिले बजारमा विभिन्न खालका ब्यागहरू आएका छन्। जसमा खेती गर्दा घरलाई कुनै लोड नपर्ने वरिष्ठ वागवानी विकास अधिकृत अरूण काफ्ले बताउँछन्।
यस्ता ब्यागहरू गमलाभन्द सस्तो पनि हुने गरेको उनको अनुभव छ। ‘पहिला हामीले पनि विभिन्न बालीको नमुना देखाउन गमला प्रयोग गथ्यांै, अहिले बजारमा आएका आधुनिक ब्यागमा गरिरहेका छौ’, उनले भने, ‘गमलाभन्दा ब्याग सस्तो पर्ने रहेछ।’
कौसी खेती गर्नेका लागि यस्ता ब्याग उचित हुने उनको भनाई छ। गमला फुट्ने डर हुन्छ भने यस्ता ब्यागहरू ३/४ वर्षसम्म केही हुँदैन।
यस्ता ब्यागमा तरकारी उत्पादन गर्दा माटोभन्दा पनि नरिवलको जटाको धुलो, गड्यौली मल र कम्पोष्ट मल राख्दा राम्रो हुन्छ। यस्ता कच्चा पदार्थको प्रयोग गर्दा एक ठाउँबाट अर्को ठाउँमा लैजान सजिलो हुन्छ। यसको फाइदा काठमाडौं फ्ल्याट लिएर बस्नेहरुलाई हुन्छ।
यस्ता ब्यागहरू एग्रोभेटमा सजिलै पाइन्छ।
उनकाअनुसार ब्यागमा नरिवलको जटाको धुलो २५, गड्यौली मल २५ र कम्पोष्ट मल ५० प्रतिशत गरेर एक डेढ केजी राख्नु पर्छ।
यस्तोमा खेती गर्न दैनिक ५ देखि ६ घण्टा भन्दा बढी घाम लाग्ने ठाउँ हुनुपर्छ। यसमा चिस्यान र खाद्य तत्वको मात्रा मिलाउन सक्नुपर्छ।
२० देखि २५ लिटर गाईवस्तुको पिसाब ल्याएर १५ दिन जति राखी त्यसमा ५ देखि ६ लिटर पानी हालेर १० देखि १५ दिनमा सकियो भने खाद्यतत्व व्यवस्थापन गर्न सकिने उनी बताउँछन्।
यसमा मौसमी तरकारी काउली, बन्दा, गोल्भेडा, ब्रो काउली, धनियाँ, भन्टा, खुर्सानी लगायत दैनिक भान्सामा प्रयोग हुने तरकारी फलाउन सकिन्छ।