कृषि मन्त्री चक्रपणि खनालले तरकारी तथा फलफूलको व्यापारमा दलाली भएको बताएका छन्। गएको आर्थिक वर्षको कार्यक्रमको समिक्षा कार्यक्रममा बोल्दै खनालले तरकारीको व्यापारमा गिरोहको हालिमुहाली भएको बताएका हुन्।
नेपालमा उत्पादन हुने तरकारी पनि भारतबाट ल्याएर व्यापारीले देश र किसानमाथि बदमासी गरेको उनको भनाइ छ।
'कालिमाटी तरकारी बजारमा यस्ता दलाली छन् जहाँ सरकारले छुन सक्दैन। गाउँमा कागती १ रूपैयाँमा पनि बिकेको छैन। कालिमाटीका व्यापारीले भारतबाट आयात गरेर महंगो बेचिरहेका छन्' उनले भने' हामीले भनेको किन लागू हुँदैन, हामीले त्यो बजार किसान र उपभोक्ताका लागि बनाएका हौ तर अहिले त्यहाँ अरु नै कसैको हालिमुहाली छ।'
यस्तोमा सरकारको तर्फबाट अध्ययन अनुसन्धान गरी उपयुक्त संयन्त्र र प्रणाली विकास गरी हस्तक्षेप हुने वातावरण बनाउनुपर्नेमा जोड दिए। यसका लागि कार्यक्रम बनेपनि कार्यान्वयन नभएको कुरा आफुले थाहा पाएपनि केही गर्न नसकिएको बताए।
कर्मचारीहरुको खुल्लमखुल्ला असहयोग भएको भन्दै उनले आक्रोश व्यक्त गरेका थिए।